प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार
अमेरिकाको न्यूयोर्कस्थित सेन्ट्रल पार्कमा चेरी फूल हेर्दै मानिसहरू। तस्वीर : झाङ फेङगुओ/सिन्ह्वा-रासस
अमेरिकामा आर्थिक अवस्था बिग्रँदै गएको महसुस गर्ने नागरिकहरूको संख्या ऐतिहासिक रूपमा उच्च पुगेको छ। नयाँ ग्यालप सर्वेक्षणअनुसार ५५ प्रतिशत अमेरिकनहरूले आफ्नो वित्तीय अवस्था खराब हुँदै गएको बताएका छन्, जसले उपभोक्तामा बढ्दो निराशा र चिन्तालाई संकेत गर्छ।
सन् २००१ देखि यस्तो प्रश्न सोध्न थालेयता यो सबैभन्दा उच्च प्रतिशत हो। यसले सन् २०२० को कोभिड-१९ महामारी र सन् २००८ को आर्थिक मन्दीभन्दा पनि अहिले उपभोक्ताको मनोबल कमजोर रहेको देखाउँछ। अप्रिल १ देखि १५ सम्म १,००१ जनासँग गरिएको अन्तर्वार्तामा आधारित यो अध्ययनले दैनिक खर्च व्यवस्थापन नै चुनौती बन्दै गएको देखाएको छ।
सर्वेक्षणअनुसार महँगी, ऊर्जा, आवास र स्वास्थ्य सेवाको लागत यस वर्षका प्रमुख आर्थिक चिन्ताका विषय बनेका छन्। ग्यालपका अनुसार कलेज शुल्क, यातायात खर्च र बाल हेरचाहजस्ता खर्चहरू पनि तीव्र रूपमा बढ्दै जाँदा नागरिकको बजेटमा थप दबाब परेको छ।
फेब्रुअरीदेखि सुरु भएको इरान युद्धपछि इन्धन मूल्य बढ्दा जनअसन्तुष्टि झन् चुलिएको छ। तर सर्वेक्षणले भने स्वास्थ्य सेवा र शिक्षाजस्ता क्षेत्रमा लागत वृद्धि भने वर्षौंदेखि कायम समस्या रहेको देखाएको छ ।
हालैको मूल्यवृद्धिले करिब ५५ प्रतिशत उत्तरदातालाई प्रत्यक्ष आर्थिक कठिनाइ परेको छ भने १३ प्रतिशतले तेल तथा ग्यासको मूल्य वृद्धि प्रमुख चिन्ता भएको बताएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो।
मंगलबार पेट्रोलको औसत मूल्य प्रति ग्यालन ४ दशमलव १८ डलर पुगेको अमेरिकी अटोमोबाइल एशोसिएसन (एएए)ले जनाएको छ, जुन इरान युद्ध सुरु भएयताकै उच्च स्तर हो।
नर्डवालेटकी वरिष्ठ अर्थशास्त्री एलिजाबेथ रेन्टरका अनुसार ग्यास र दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढिरहेकाले उपभोक्ताले यसको असर प्रत्यक्ष महसुस गरिरहेका छन्।
“महँगी कति समय रहन्छ भन्ने अनिश्चितताले थप चिन्ता बढाएको छ।”, सीबीएस न्यूजसँगको कुराकानीमा उनले भनिन् ।
सर्वेक्षणले देखाएअनुसार अमेरिकनहरू अवकाश बचत र सन्तानको शिक्षाजस्ता दीर्घकालीन विषयमा पनि झन् चिन्तित बनेका छन्। करिब ६२ प्रतिशतले अवकाशका लागि पर्याप्त रकम नहुने डर व्यक्त गरेका छन्।
एलायान्ज सेन्टर फर द फ्युचर अफ रिटायरमेन्टको प्रतिवेदनअनुसार जीवनयापन खर्च बढ्दै जाँदा अवकाशपछि बचत सकिने चिन्ता तीव्र बन्दै गएको छ। एलियान्ज लाइफको २०२६ अध्ययनले ६७ प्रतिशत अमेरिकनहरू मृत्यु भन्दा पैसाको अभाव हुने डर बढी भएको देखाएको छ।
दैनिक खर्च व्यवस्थापनमा समस्या बढ्दै जाँदा क्रेडिट कार्डको न्यूनतम भुक्तानीसमेत चुनौतीपूर्ण बन्दै गएको छ। ग्यालपका अनुसार २८ प्रतिशत उत्तरदाताले यस्तो चिन्ता व्यक्त गरेका छन्, जुन अघिल्लो वर्षभन्दा २ प्रतिशत र सन् २०२१ भन्दा ११ प्रतिशतले बढी हो।
अर्थशास्त्री एलिजाबेथ रेन्टर भन्छिन्, “जब ग्यास र खाद्यान्नजस्ता आधारभूत वस्तु महँगिन्छन्, सीमित बजेट भएका परिवारहरू छिट्टै आर्थिक दबाबमा पर्छन्।”