विश्वकप फुटबल: कीर्तिमानी गोलसहित एमबाप्पे गोल्डेन बुट नजिक, उछिन्लान् त मेसीले ?



प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार

विश्वकप फुटबल: कीर्तिमानी गोलसहित एमबाप्पे गोल्डेन बुट नजिक, उछिन्लान् त मेसीले ?

फोटो :एपी/रासस

फिफा विश्वकप–२०२६ मा फ्रान्सका कप्तान किलियन एमबाप्पे सर्वाधिक गोलकर्ता बनेका छन्। तेस्रो स्थानका लागि इङ्गल्यान्डविरुद्ध भएको खेलमा दुई गोल गरेसँगै उनले प्रतियोगितामा आफ्नो कुल गोल सङ्ख्या १० पुर्‍याएका हुन्।

यी दुई गोलसँगै एमबाप्पेले विश्वकप इतिहासमा आफ्नो कुल गोल सङ्ख्या २२ पुर्‍याउँदै नयाँ कीर्तिमान कायम गरेका छन्।

यससँगै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको सूचीमा पनि उनी अर्जेन्टिनाका कप्तान लियोनल मेसीभन्दा अगाडि पुगेका छन्। मेसीको नाममा हालसम्म २१ विश्वकप गोल रहेका छन्।

मियामीमा सम्पन्न तेस्रो स्थानको प्रतिस्पर्धामा फ्रान्स ६–४ गोलअन्तरले इङ्गल्यान्डसँग पराजित भए पनि एमबाप्पेको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट रह्यो। उनले ४८औँ र ६६औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउने प्रयास गरेका थिए।

तीन संस्करणको विश्वकपमा उनले २२ गोल गरेका हुन्। जारी विश्वकपमा पनि एमबाप्पेले १० गोल गर्दै गोल्डेन बुटको दौडमा अग्रता बनाएका छन्। मेसीको नाममा हालसम्म ८ गोल रहेको छ भने उनले स्पेनविरुद्धको फाइनल खेल खेल्न बाँकी छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गरे मेसीसँग गोल सङ्ख्या बढाउने अवसर अझै कायम छ।

विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने व्यक्तिगत पुरस्कार ‘गोल्डेन बुट’ का लागि यसपटक पनि एमबाप्पे सबैभन्दा बलियो दाबेदार बनेका छन्। उनले सन् २०२२ को विश्वकपमा पनि सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका थिए।

यता, तेस्रो स्थानका लागि भएको खेलमा इङ्गल्यान्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै विश्वकप–२०२६ मा तेस्रो स्थान हासिल गरेको छ। सन् १९६६ मा विश्वकप उपाधि जितेपछि इङ्गल्यान्डले पहिलो पटक पुरुष विश्वकपमा तेस्रो स्थान हात पारेको हो।

विश्वकप–२०२६ को उपाधिका लागि अब साबिक विजेता अर्जेन्टिना र सन् २०१० को विश्वविजेता स्पेनबीच फाइनल प्रतिस्पर्धा हुनेछ।





Source link

Leave a Comment