प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार

तस्वीर : आइस
नयाँ अदालती कागजातहरू अनुसार, अमेरिकी स्वास्थ्य संस्था ‘मेडिकेड’ का अधिकारीहरूले गत जनवरीमा लाखौँ सर्वसाधारणको गोप्य विवरण अध्यागमन अधिकारीहरूलाई बुझाएका थिए। त्यसपछि आइसले उक्त विवरण डेटा एनालिटिक्स कम्पनी ‘पालान्टिर’सँग साझेदारी गरेको खुलासा भएको छ। पालान्टिरले ‘इलिट’ नामक एक एप सञ्चालन गर्दछ, जसको प्रयोग आइस एजेन्टहरूले देश निकालाको जोखिममा रहेका गैर-नागरिकहरूको ठेगाना पत्ता लगाउन गर्छन्।
उक्त तथ्य बिहीबार २० जनाभन्दा बढी डेमोक्रेटिक आबद्ध प्रान्तीय महान्यायाधिवक्ताहरूले अदालतमा दर्ता गरेको एक निवेदनमार्फत सार्वजनिक भएको हो। उनीहरूले गत वर्ष ‘सेन्टर्स फर मेडिकेयर एन्ड मेडिकेड सर्भिस’ र आइसबीच भएको डेटा-साझेदारी सम्झौताको विरुद्धमा ट्रम्प प्रशासनमाथि मुद्दा हालेका थिए।
क्यालिफोर्नियाका अमेरिकी जिल्ला न्यायाधीश भिन्स छाब्रियाले गत डिसेम्बरमा कानुनी हैसियत नभएका आप्रवासीहरूको घरको ठेगाना, जन्ममिति र अध्यागमन स्थिति जस्ता विवरणहरू आइस लाई दिन मिल्ने फैसला गरेका थिए। यद्यपि, जनवरी ७ मा संघीय अधिकारीहरूले अदालतको अनुमति भन्दा बाहिर गई नागरिक र कानुनी रूपमा बसोबास गरिरहेका लाखौँ मानिसहरूको डाटा समेत हस्तान्तरण गरेपछि, न्यायाधीश छाब्रियाले मे महिनाको अन्त्यतिर यो डेटा साझेदारीमा अस्थायी रोक लगाएका थिए।
अदालतले आइसलाई उक्त गल्तीवश प्राप्त डेटा तुरुन्तै नष्ट गर्न आदेश दिएको थियो। तर, जस्टिस डिपार्टमेन्टका अनुसार अधिकारीहरूले फेरि सोही डेटा दोहोर्याएर आइससँग साझेदारी गरेको स्वीकार गरेका छन्। आइसका अधिकारी अल्बर्टो ब्रिसेनोले फाइल फेला परेलगत्तै हटाइएको दाबी गरे तापनि, पछि गरिएको जाँचमा अझै आधा दर्जन कर्मचारीका डिभाइसमा सो डेटा सुरक्षित रहेको पाइएको थियो। ब्रिसेनोले प्रविधिको जटिलताका कारण सबै प्रतिलिपिहरू पूर्ण रूपमा मेटिएको सुनिश्चित गर्न गाह्रो भइरहेको बताएका छन्।
अर्कोतर्फ, जस्टिस डिपार्टमेन्टले अदालतसँग अझै व्यापक रूपमा गैर-नागरिकहरूको डेटा प्राप्त गर्ने अनुमति मागिरहेको छ। यसको विरोध गर्दै डेमोक्रेटिक महान्यायाधिवक्ताहरूले लेखेका छन्, आफ्नो नियन्त्रणमा भएको डेटा सुरक्षित राख्न नसक्ने आइसलाई नागरिकका थप संवेदनशील विवरणहरूमा पहुँच दिइनु हुँदैन। सरकारको यस्तो लापर्बाहीले गर्दा सर्वसाधारणको स्वास्थ्य डेटाको गोपनीयतामाथि गम्भीर प्रश्न उठेको छ।
यस विषयमा पालान्टिर र डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी दुवैले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।