न्यूयोर्क र न्यु जर्सीको वायु प्रदूषण: विश्वकप फाइनल प्रभावित हुने आशंका



प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार

न्यूयोर्क र न्यु जर्सीको वायु प्रदूषण: विश्वकप फाइनल प्रभावित हुने आशंका

फोटो :एपी/रासस

अमेरिकाको न्यूयोर्क र न्यु जर्सी क्षेत्रमा वायु प्रदूषण बढेपछि विश्वकप फुटबलको फाइनल खेल प्रभावित त हुने होइन भन्ने आशंका उब्जिएको छ।

क्यानडामा फैलिएको भीषण डढेलोको धुवाँका कारण यस क्षेत्रको वायु प्रदूषण अत्यधिक बढेपछि स्थानीय अधिकारीहरूले हेल्थ एड्भाइजरी जारी गरेका छन्।

विश्वकप २०२६ को फाइनल खेल हुन केही दिन मात्र बाँकी छँदा जारी गरिएको यस चेतावनीमा स्थानीय बासिन्दालाई सकेसम्म घरभित्रै बस्न र बाहिरी शारीरिक गतिविधि कम गर्न आग्रह गरिएको छ।

आउँदो आइतबार, १९ जुलाईमा न्यु जर्सीको इस्ट रदरफोर्डस्थित न्यूयोर्क–न्यु जर्सी स्टेडियममा स्पेन र अर्जेन्टिनाबीच विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ। ८० हजारभन्दा बढी दर्शक उपस्थित हुने अपेक्षा गरिएको यो खेलअघि मौसम र वायुको गुणस्तरलाई लिएर चिन्ता बढेको हो।

स्पेनिस टोली टेक्ससमा फ्रान्सलाई हराउँदै सेमिफाइनल जितेको भोलिपल्ट, अर्थात् बुधबार राति न्यु जर्सी आइपुगेको थियो। टोली आइपुगेलगत्तै वायु प्रदूषणको अवस्था झन् खराब बनेको थियो। यद्यपि, स्पेनले बिहीबार खुला मैदानमै प्रशिक्षण गर्‍यो र हालसम्म टोलीले वायुको गुणस्तरबारे कुनै औपचारिक चिन्ता व्यक्त गरेको छैन।

यता इंग्ल्यान्डलाई पराजित गर्दै फाइनलमा पुगेको अर्जेन्टिना भने सेमिफाइनल खेलपछि जर्जियामै रोकिएको थियो। उक्त टोलीले शुक्रबार दिउँसोदेखि न्यु जर्सीमा प्रशिक्षण सुरु गर्ने कार्यक्रम छ।

डढेलोको धुवाँ र अत्यधिक गर्मीको असर यसअघि नै फुटबल खेलाडीहरूले भोगिसकेका छन्। बुधबार राति नेसनल वुमेन्स सकर लिग अन्तर्गत गोथम एफसी र वासिङ्टन स्पिरिटबीचको खेल न्यूयोर्कको सिटी फिल्डमा खेलाइएको थियो, जतिबेला आकाश सुन्तला रङको धुवाँले ढाकिएको थियो। वायु गुणस्तर सूचकांक अस्वस्थकर तहमा पुगेपछि को नियमअनुसार प्रत्येक हाफमा दुई पटक खेल रोक्दै खेलाडीहरूलाई विश्राम दिइएको थियो।

वासिङ्टन स्पिरिटकी स्टार खेलाडी ट्रिनिटी रोडम्यानले खेलपछि वायुको गुणस्तर निकै खराब रहेको भन्दै यस्तो अवस्थामा खेल खेलाउनु उचित नभएको प्रतिक्रिया दिइन्। उनले भनिन्, “म बहाना बनाउन खोज्दै छैन, तर दुवै टोलीका खेलाडीहरू लगातार ‘अर्को ब्रेक चाहियो, अर्को ब्रेक चाहियो’ भनिरहेका थियौं।”

यद्यपि, न्यूयोर्कका बासिन्दाहरूले सन् २०२३ को जुन महिनामा क्यानडाकै डढेलोका कारण आकाश पूरै सुन्तलामय बनेको तुलनामा अहिलेको अवस्था कम गम्भीर रहेको बताएका छन्।

विश्वकप फाइनल हुने न्यूयोर्क–न्यु जर्सी स्टेडियम खुला मैदानमा रहेको भए तापनि हालसम्म खेल स्थगित हुने वा प्रभावित हुने कुनै आधिकारिक संकेत देखिएको छैन। आयोजकहरूले खेल निर्धारित समयमै सञ्चालन हुने अपेक्षा गरेका छन्।

मौसम पूर्वानुमानअनुसार शुक्रबारदेखि वायुको गुणस्तरमा क्रमिक सुधार आउनेछ र शनिबार वर्षा हुने सम्भावना रहेकाले धुवाँ हट्न थप सहयोग पुग्ने विश्वास गरिएको छ। खराब वायु गुणस्तरकै कारण बिहीबार मेजर लिग सकर अन्तर्गत शिकागो फायर र भ्यानकुभर ह्वाइटक्याप्स बीचको खेल भने स्थगित गरिएको छ।

बायर्न म्युनिख र बार्सिलोनाका पूर्व चर्चित स्ट्राइकर रोबर्ट लेवान्डोस्की, जो गत महिना ‘फ्री एजेन्ट’का रूपमा शिकागो फायरमा आबद्ध भएका थिए, यसै खेलमार्फत क्लबका लागि डेब्यु गर्ने तयारीमा थिए। खेल स्थगित भएपछि उनको डेब्यु पनि तत्कालका लागि टरेको छ।





Source link

Leave a Comment