प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार

फोटो: होमल्याण्ड सेक्युरिटी
चीनमा संकटमा परेका मानव अधिकारवादी वकिलहरूको समूहमा सक्रिय रहेका शाओपिङ वुलाई अमेरिकाको अध्यागमन विभागले पक्राउ गरेको छ। सन् २०१९ मा चिनियाँ सरकारको धरपकडबाट बच्न अमेरिका पलायन भएका वुले सन् २०२० मा राजनीतिक शरणका लागि आवेदन दिएका थिए।
विगत केही वर्षदेखि पेन्सिल्भेनियामा आफ्नो परिवारसँग बस्दै आएका वु अमेजनमा सामान डेलिभरी गर्ने चालकका रूपमा काम गर्दै आएका थिए । गत बुधबार एक ट्राफिक चेकिङका क्रममा प्रहरीले उनलाई रोकेको थियो।
उनले प्रहरीलाई आफ्नो वैध कार्य अनुमति पत्र र प्रक्रियामा रहेको शरणार्थी आवेदन देखाएका थिए। तर, पूर्ण कानुनी हैसियत नभएका कारण प्रहरीले अध्यागमन अधिकारीहरूलाई खबर गरेपछि आइसले उनलाई हिरासतमा लिएको हो।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले वुले आफ्नो भिसाको म्याद सकिएपछि पनि ६ वर्ष बढी समय अनाधिकृत रूपमा बिताएको जनाएको छ। डिपार्टमेन्टले उनलाई आफैं देश छोड्नका लागि २,६०० डलर र निःशुल्क हवाई टिकटको प्रस्ताव समेत गरेको छ। उनको मुद्दाको सुनुवाइ आगामी जुलाई २७ मा अध्यागमन अदालतमा हुनेछ।
वुका समर्थक र आफन्तहरू अहिले उनलाई चीन डिपोर्ट गरिने हो कि भन्ने चिन्तामा छन्। चीन फर्काइएमा उनले त्यहाँको कम्युनिस्ट पार्टीबाट ठूलो उत्पीडन भोग्नुपर्ने निश्चित जस्तै छ। राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले राजनीतिक अभिव्यक्ति स्वतन्त्रता र अधिकारवादीहरूलाई कडा दमन गर्दै आएको छ।
यो घटनाले आप्रवासी र शरणार्थीहरूलाई देश निकाला गर्ने ट्रम्प प्रशासनको आम-डिपोर्टेशन अभियान कति कडा रूपमा अघि बढिरहेको छ भन्ने प्रष्ट पार्छ। यसले अमेरिकाको सबैभन्दा ठूलो भूराजनीतिक प्रतिद्वन्द्वीका विरोधीहरूलाई समेत कानुनी हैसियत नभएमा अमेरिकामा सहज व्यवहार हुँदैन भन्ने देखाएको छ।
सन् २०१५ देखि नै चीनमा मानव अधिकार रक्षाको आन्दोलनमा लागेका वुले भ्रष्टाचार विरोधी अभियन्ता र चीनमा प्रतिबन्धित ‘फालुन गोंग’ का अनुयायीहरू जस्ता संवेदनशील व्यक्तिहरूको मुद्दा लडेका थिए। अमेरिका आइसकेपछि पनि उनले चीनमा मानव अधिकार र नागरिक समाजका लागि निरन्तर आवाज उठाइरहेका थिए।