प्रकाशित मिति : ३० असार २०८३, मंगलबार
फोटो :एपी/रासस
स्पेन फिफा विश्वकप फुटबल २०२६ को फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सलाई २–० गोलले पराजित गर्दै स्पेनले फाइनलमा स्थान बनाएको हो।
स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे। खेलको २२औँ मिनेटमा मिकेल ओयारजाबालले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। फ्रान्सका लुकास डिग्नेले लामिन यमालविरुद्ध ‘फाउल’ गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको हो।
त्यसपछि खेलको ५८औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन सकेन र स्पेन २–० को जितसहित फाइनलतर्फ अघि बढ्यो।
अब आइतबार हुने फाइनलमा स्पेनले इङ्गल्याण्ड वा अर्जेन्टिनामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
डलासमा भएको उक्त खेलमा स्पेनले सुरुदेखि अन्त्यसम्म खेललाई आफ्नो नियन्त्रणमा राख्न सफल भयो। फ्रान्सका विश्वविख्यात स्ट्राइकरहरूलाई स्पेनको रक्षापंक्तिले पूर्ण रूपमा रोक्यो। यस विश्वकपमा स्पेनको रक्षापंक्ति निकै मजबुत देखिएको छ। स्पेनले प्रतियोगिताका सात खेलमा मात्र एक गोल बेहोरेको छ।
फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेले समेत यस खेलमा गोल गर्न सकेनन्। उनले यसअघिका खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए। उनी गोल्डेन बुटका प्रमुख दाबेदार पनि हुन्। यस विश्वकपमा उनले ८ गोल गरिसकेका छन्। उनले अर्का दाबेदार, अर्जेन्टिनाका लियोनल मेसीलाई समान ८ गोलसहित पछ्याइरहेका छन्। बिहान पौने १ बजे साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्डबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।
स्पेन आफ्नो इतिहासमा दोस्रो पटक विश्वकप उपाधि जित्ने दाउमा छ। यसअघि सन् २०१० मा स्पेनले विश्वकप जितेको थियो।
यो हारसँगै जारी विश्वकपको बलियो दाबेदार मानिएको फ्रान्स सेमिफाइनलबाटै बाहिरिएको छ भने २०१० को विश्वविजेता स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको छ। यो पराजयसँगै फ्रान्स लगातार तेस्रो पटक फाइनलमा पुग्नबाट समेत वञ्चित भएको छ। २०१८ मा रुसमा उपाधि जितेको फ्रान्स चार वर्षअघि कतारमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।