क्यालिफोर्नियाका दुई ठूला आप्रवासी थुना केन्द्र अब अमेरिकी सरकारको स्वामित्वमा, १.५ अर्ब डलरको सम्झौता



प्रकाशित मिति : २२ असार २०८३, सोमबार

Texas immigration detention center

निजी जेल सञ्चालक कम्पनी कोरसिभिकले क्यालिफोर्नियामा रहेका दुईवटा ठूला आप्रवासी थुना केन्द्रहरू डिपार्टमेन्ट अफ होमल्यान्ड सेकुरिटीलाई १.५ अर्ब अमेरिकी डलरमा बिक्री गरेको छ। कम्पनीले सोमबार यस सम्झौताको औपचारिक घोषणा गरेको हो।

कम्पनीका अनुसार स्यान्डिएगो काउन्टीको ‘ओटाए मेसा डिटेन्सन सेन्टर’  र केर्न काउन्टीको ‘क्यालिफोर्निया सिटी डिटेन्सन फ्यासिलिटी’  बिक्रीबाट करिब १.१ अर्ब डलर खुद नाफा हुने अनुमान गरिएको छ।

अमेरिकी धितोपत्र तथा विनिमय आयोगमा दर्ता गरिएको विवरण अनुसार, यो खरिद-बिक्री प्रक्रिया जुलाई २ मा सम्पन्न भएको हो। संघीय सरकारले १,९९४ बेड क्षमताको ओटाए मेसा केन्द्रका लागि ७३ करोड ९२ लाख डलर र भर्खरै सञ्चालनमा आएको २,५६० बेड क्षमताको क्यालिफोर्निया सिटी केन्द्रका लागि ७३ करोड २६ लाख डलर भुक्तानी गरेको छ।

भूमि र भवन सरकारको स्वामित्वमा गए पनि आइससँगको विद्यमान व्यवस्थापन सम्झौता अन्तर्गत यी केन्द्रहरूको दैनिक सञ्चालन कोरसिभिक कम्पनीले नै निरन्तरता दिने जनाएको छ। तर, सरकार आफैँ मालिक बनेकाले सम्झौताका सर्तहरू फेरि नवीकरण वा परिमार्जन हुन सक्ने कम्पनीले स्वीकार गरेको छ। क्यालिफोर्निया सिटीको सम्झौता अगस्ट २०२७ सम्म र ओटाए मेसाको सम्झौता डिसेम्बर २०२९ सम्म कायम रहनेछ।

यो खरिद होमल्यान्ड सेकुरिटीसँग उपलब्ध अभूतपूर्व बजेटको हिस्सा हो। सन् २०२५ को संघीय बजेटले अध्यागमन प्रवर्तन र थुना व्यवस्थापनका लागि करिब १७० अर्ब डलर विनियोजन गरेको थियो, जसमा ४५ अर्ब डलर विशेष गरी थुना क्षमता विस्तारका लागि छुट्टाइएको थियो।

ब्रेनान सेन्टर फर जस्टिसका अनुसार, संघीय सरकारको यो कदम दुई ठूला निजी जेल ठेकेदारहरूमाथिको निर्भरता कम गर्दै राष्ट्रिय आप्रवासी थुना क्षमता सुदृढ गर्ने योजनाको एक हिस्सा हो। यो नयाँ मोडललाई आइस डिटेन्सन रिइन्जिनियरिङ इनिसिएटिभ नाम दिइएको छ, जसको उद्देश्य थुना केन्द्रहरूको संख्या घटाएर क्षमता र दक्षता बढाउनु हो।

क्यालिफोर्नियाको कानुनले स्थानीय अधिकारीहरूलाई यी केन्द्रहरूको स्वास्थ्य र अवस्था अनुगमन गर्ने अधिकार दिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता क्यालिफोर्नियामा यस्ता केन्द्रहरूको संख्या ६ बाट बढेर ८ पुगेको छ, जसका कारण डेढ महिनादेखि यहाँको राजनीतिक र कानुनी बहस तातिएको छ।

ओटाए मेसा केन्द्रमा अनुगमन गर्न रोकेको भन्दै स्यान्डिएगो काउन्टीले संघीय सरकार र कोरसिभिकविरुद्ध मुद्दा दायर गरेको थियो, जसमा अदालतले स्वास्थ्य अधिकारीहरूलाई निरीक्षणको अनुमति दिएको छ। अर्कोतर्फ, क्यालिफोर्निया सिटी केन्द्र आवश्यक कानुनी अनुमति बिना नै सञ्चालन भइरहेको दाबी गर्दै अधिकारवादी संस्था ‘इमिग्रान्ट लीगल रिसोर्स सेन्टर’ र महान्यायाधिवक्ता रोब बोन्टाले यसलाई बन्द गर्न माग गरिरहेका छन्।

अधिकारवादी वकिल ग्रिसेल रुइजका अनुसार, यो सम्झौता कोरसिभिकका लागि अत्यधिक फाइदाजनक देखिन्छ। उनीहरूले सम्पत्ति बेचेर ठूलो नाफा पनि कमाए र केन्द्र सञ्चालन गरेर आउने आम्दानी पनि सुरक्षित राखे। यो त ‘दुवै हातमा लड्डु’ जस्तै भयो। तर कोरसिभिकका प्रवक्ता रायन गस्टिनले भने यो खरिद-बिक्री प्रक्रिया र मूल्यांकन पूर्ण रूपमा संघीय मापदण्ड र निष्पक्षताका साथ गरिएको दाबी गरेका छन्। कम्पनीले प्राप्त रकम ऋण तिर्न र आफ्ना सेयरहरू फिर्ता किन्न प्रयोग गर्ने योजना बनाएको छ।





Source link

Leave a Comment