अपराधबाहेक यी ५ गल्ती गर्दा पनि गुम्न सक्छ अमेरिकी ग्रिन कार्ड



प्रकाशित मिति : २२ असार २०८३, सोमबार

अपराधबाहेक यी ५ गल्ती गर्दा पनि गुम्न सक्छ अमेरिकी ग्रिन कार्ड

अमेरिकी ग्रिन कार्ड प्राप्त गरिसकेपछि विभिन्न सुविधा मात्र प्राप्त हुँदैन । अमेरिकी नागरिकताका लागि पनि बाटो खुल्छ । तर, ग्रिन कार्डवाहकले गल्ती गर्दा ग्रिन कार्ड गुम्ने मात्र नभई देश निकालाको सामना गर्नुपर्ने खतरासमेत हुन सक्छ ।

कतिपयलाई लाग्न सक्छ, ठूलै अपराध गरेका कारण मात्र ग्रिन कार्ड गुम्न सक्छ । तर, त्यसो होइन । अन्य यस्ता गल्ती–कमजोरीले पनि ग्रिन कार्ड गुम्न सक्छ । ग्रिन कार्ड गुम्ने थुप्रै आधार छन् । तीमध्ये पाँचको चर्चा यहाँ गरिएको छ ।

यूएससीआईएसका अनुसार ती गल्ती आशययुक्त होऊन् वा दुर्घटनावश गरिएका होऊन् । ग्रिन कार्डसमेत गुमाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ । त्यसैले यस्ता गल्ती हुन नदिन ग्रिन कार्डवाहकले सावधानी अपनाउनुपर्छ ।

यदि ग्रिन कार्डवाहक व्यक्ति अर्को देशमा स्थायी रूपमा बसोबास गर्ने उद्देश्यका साथ गएको खण्डमा ग्रिन कार्ड गुम्न सक्छ । उदाहरणका लागि कुनै अमेरिकी ग्रिन कार्डवाहक व्यक्ति क्यानडा गएर पीआरका लागि आवेदन दिएको खण्डमा अमेरिकी ग्रिन कार्ड गुमाउनुपर्ने अवस्था आउन सक्छ ।

त्यस्तै पुनः प्रवेशका लागि ट्राभल डकुमेन्ट नबनाईकनै एक वर्षभन्दा लामो समय लगातार अमेरिकाबाहिर बसेको खण्डमा ग्रिन कार्ड स्वतः रद्द हुन सक्छ । एक वर्षभन्दा लामो समय लगातार अमेरिकाबाहिर बस्दा व्यक्ति स्थायी रूपमा अमेरिकाबाहिर बसाइसराइ गरेको बुझाइ हुने भएकाले ग्रिन कार्ड स्वतः रद्द हुन सक्छ ।

त्यसैले एक वर्षभन्दा लामो समय अमेरिकाबाहिर बस्ने योजना छ भने तपाईंले फर्कनका लागि पुनः प्रवेशका लागि अमेरिका छाड्नुअघि नै आवेदन दिनुपर्छ ।
आईआरएससमक्ष आफ्नो आम्दानी घोषणा गरेर ट्याक्स फाइल नगरेको खण्डमा समेत ग्रिन कार्ड गुम्न सक्छ । ट्याक्स नतिरेका कारण सामना गर्नुपर्ने कानुनी झन्झटले ग्रिन कार्ड खोस्नेदेखि देश निकाला हुनेसम्मको पनि अवस्था आउन सक्छ ।

त्यस्तै ग्रिन कार्डवाहकले अमेरिकामा ट्याक्स फाइल गर्दा गैरआप्रवासी स्टाटस जनाउनु हुँदैन । यसो हुँदा पनि समस्या हुन सक्छ ।

यदि ग्रिन कार्डवाहक १८ देखि २५ वर्ष उमेरभित्रको छ भने र उसले सैन्य सेलेक्टिभ सर्भिसमा आफूलाई दर्ता गराएको छैन भने पनि ग्रिन कार्ड गुम्न सक्ने खतरा हुन्छ ।
ग्रिन कार्ड आवेदन दिँदा झुटो बोलेको पत्ता लागेका कारण वा अन्य कुनै कारणले अध्यागमन न्यायाधीशले देश निकालाको आदेश जारी गरेको खण्डमा अमेरिकी ग्रिन कार्ड खारेज हुने प्रावधान छ ।

यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।

यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)





Source link

Leave a Comment