प्रकाशित मिति : २२ असार २०८३, सोमबार

Photo: Luca Campioni/ Unsplash
ट्रम्प प्रशासनले आप्रवासी परिवार र अभिभावकविहीन बालबालिकाहरूलाई राख्नका लागि एउटा प्रमुख विमानस्थल हब नजिकै ५२८ बेडको होल्डिङ फेसिलिटी खोल्ने योजना बनाएको छ। देशनिकालाको प्रक्रियालाई थप तीव्र र व्यवस्थित बनाउने उद्देश्यले यो कदम चालिएको हो।
लुजियानाको अलेक्जान्ड्रियामा स्थापना हुन लागेको यस केन्द्रले प्रशासनिक र व्यवस्थापकीय झन्झटहरूलाई कम गर्ने अधिकारीहरूको दाबी छ। यसअघि देशनिकालाको अन्तिम तयारीका क्रममा देशैभरिका विभिन्न आश्रयस्थल र फोस्टर होमबाट बालबालिकाहरूलाई एकत्रित गर्न निकै कठिनाइ हुने गरेको थियो। गत वर्ष यस्तै भद्रगोल व्यवस्थापनका कारण ग्वाटेमालाका बालबालिकाहरूलाई मध्यरातमा उठाएर टेक्सासको हार्लिन्जेन पुर्याइएको थियो, जहाँ उनीहरूले विमानस्थलको रनवेमै घण्टौँ कुर्नुपरेको थियो।
त्यस बेला एक संघीय न्यायाधीशले उनीहरूको देशनिकाला प्रक्रियामा रोक लगाइदिएका थिए। उक्त घटनाले विमानस्थल नजिकै सुरक्षित आश्रयस्थल नहुँदा सरकारी निकायहरूले कतिसम्मको चुनौती व्यहोर्नुपर्छ भन्ने प्रष्ट पारेको थियो।आइसले यस अलेक्जान्ड्रिया केन्द्रलाई हिरासत नभई एक अल्पकालीन बसाइ केन्द्रको रूपमा व्याख्या गरेको छ, जहाँ मानिसहरूलाई बढीमा केही दिन मात्र राखिनेछ।
अर्कोतर्फ, आप्रवासीका क्षेत्रमा कार्यरत अधिवक्ताहरूले भने विगतमा अन्य संघीय केन्द्रहरूमा जस्तै यहाँ पनि बालबालिकाहरूलाई हप्तौँ वा महिनौँसम्म राखिन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यस केन्द्रको अनुगमन र व्यवस्थापनमाथि प्रश्न उठाउँदै यो सरकारको स्थापित कार्यविधिभन्दा विल्कुलै फरक र गम्भीर कदम भएको बताएका छन्।
नाफामूलक संस्था ‘चिल्ड्रन्स राइट्स’ की मुख्य कानुनी सल्लाहकार लिसिया वेल्श भन्छिन्, यो देशनिकाला प्रणालीको यस्तो विस्तार हो, जुन हामीले यसअघि कहिल्यै देखेका थिएनौं। यस केन्द्रमा धेरै कुराहरू गलत हुन सक्ने जोखिम छ।
सामान्यतया, अमेरिकामा आमाबुबा वा नजिकका आफन्तविहीन आइपुगेका बालबालिकाहरूलाई आइसको प्रत्यक्ष निगरानीमा रहेका केन्द्रहरूमा राखिँदैन। कानुनअनुसार उनीहरूलाई स्वास्थ्य तथा मानव सेवा मन्त्रालय अन्तर्गतको शरणार्थी पुनर्वास कार्यालयद्वारा सञ्चालित राज्य-लाइसेन्सप्राप्त आश्रयस्थलहरूमा तुरुन्तै पठाउनुपर्ने हुन्छ।
तथापि, विमानस्थल प्राधिकरणका कार्यकारी निर्देशक राल्फ हेनेसीका अनुसार यो नयाँ केन्द्र सञ्चालनमा उक्त सरकारी एजेन्सीको कुनै संलग्नता रहने छैन। यसको सट्टा, एउटा निजी कारागार ठेकेदार कम्पनी ‘लासाले करेक्सन्स’को गैर-नाफामूलक शाखाले यसको सञ्चालन गर्नेछ। यो केन्द्र आगामी अगस्ट महिनादेखि नै सञ्चालनमा आउन सक्ने बताइएको छ।
प्राप्त दस्ताबेजका अनुसार, यो केन्द्रले देशनिकालाको पर्खाइमा रहेका आप्रवासीहरूका लागि ७२ घण्टाको अस्थायी ‘होल्डिङ सेन्टर’ का रूपमा काम गर्नेछ।
विमानस्थलका अधिकारीहरूले सार्वजनिक बैठकहरूमा यस केन्द्रलाई आफ्नै देश फर्कन चाहने परिवारहरूका लागि एउटा मानवीय प्रयास भएको दाबी गरेका छन्। तर, आप्रवासी अधिवक्ताहरूका अनुसार कतिपय परिवार र बालबालिकाहरूले कानुनी विकल्पहरू बुझ्न नसकेर वा चर्को दबाबका कारण मात्र यस्तो निर्णय लिने गर्छन्।
यो केन्द्र अमेरिकाकै सबैभन्दा ठूलो देशनिकाला उडान हुने विमानस्थल हबको ठीक छेउमा अवस्थित छ। ह्युमन राइट्स फर्स्टको ‘आइस फ्लाइट मोनिटर’ को तथ्याङ्क अनुसार सन् २०२५ मा मात्रै अलेक्जान्ड्रिया अन्तर्राष्ट्रिय विमानस्थलबाट ४,४०० भन्दा बढी आप्रवासन प्रवर्तन उडानहरू भएका थिए।
सरकारी निर्देशिका अनुसार यस केन्द्रमा राखिने परिवारहरूलाई ‘कैदी’ वा ‘थुनुवा’ भन्न पाइने छैन। उनीहरूलाई ओसारपसार गर्दा खोर वा फलामे डन्डी भएका गाडीहरू प्रयोग नगर्न र उनीहरूलाई आफ्नै कपडा लगाउन दिन ठेकेदारहरूलाई निर्देशन दिइएको छ।
लुजियानास्थित ‘लासाले करेक्सन्स’ ले अमेरिकाको दक्षिणी क्षेत्रमा धेरै निजी कारागार र संघीय आप्रवासी हिरासत केन्द्रहरू सञ्चालन गर्दै आएको छ। यो नयाँ केन्द्र यसै कम्पनीको गैर-नाफामूलक संस्था ‘लासाले फेमिली फाउन्डेसन’ को नाममा दर्ता हुनेछ।
यद्यपि, कम्पनीका मुख्य वित्तीय अधिकारी टिम कुर्पिएव्स्कीले पठाएको इमेल अनुसार, केन्द्रको प्रत्यक्ष सञ्चालन र कानुनी मापदण्ड पालना गराउने काममा लासाले मुख्य कम्पनी आफैँ संलग्न हुनेछ।
यस कम्पनीको पृष्ठभूमि भने विवादरहित छैन। गत अप्रिल महिनादेखि लुजियानामा लासालेद्वारा सञ्चालित अर्को एक केन्द्रमा दुई जना थुनुवाको मृत्यु भइसकेको छ। त्यस्तै, गत जुन महिनामा आन्तरिक सुरक्षा विभागको महानिरीक्षक कार्यालयले गरेको अनुसन्धानमा उक्त कम्पनीको ‘विन करेक्सनल सेन्टर’ मा वातावरणीय स्वास्थ्य, सुरक्षा, खाद्य गुणस्तर, बल प्रयोग, र चिकित्सा सेवाका स्थापित मापदण्डहरू उल्लङ्घन भएको पाइएको थियो।