अमेरिकाले स्वतन्त्रता दिवस मनाइरहँदा विमान ठूलो दुर्घटनाबाट जोगियो



प्रकाशित मिति : २१ असार २०८३, आइतबार

अमेरिकाले स्वतन्त्रता दिवस मनाइरहँदा विमान ठूलो दुर्घटनाबाट जोगियो

अमेरिकामा एउटा यात्रुवाहक विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ। अमेरिकाको शिकागोस्थित विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको डेल्टा एयरलाइन्सको एक विमान शनिबार राति आतिशबाजीका क्रममा उडाइएको पटाकासँग ठोक्किएको थियो।

एटलान्टास्थित हार्ट्सफिल्ड–ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट शिकागोको मिडवे अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गइरहेको उक्त विमानमा ५२ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए।

डेल्टा एयरलाइन्सका प्रवक्ताका अनुसार, अवतरणका क्रममा विमान आतिशबाजीको कुनै वस्तुसँग ठोक्किएको थियो। यद्यपि, विमान सुरक्षित रूपमा अवतरण गरी गेटसम्म पुगेको र घटनामा कुनै पनि यात्रु वा चालक दलका सदस्य घाइते नभएको जनाइएको छ। घटनाबारे सम्बन्धित उड्डयन निकायलाई जानकारी गराइएको छ।

यो घटना अमेरिकाले आफ्नो २५०औँ स्वतन्त्रता दिवस देशभर भव्य रूपमा आतिशबाजी गरेर मनाइरहेका बेला भएको हो। डेल्टा फ्लाइट १०७६ स्थानीय समयअनुसार साँझ ७:५१ बजे एटलान्टाबाट उडेको थियो भने रातको ८:३३ बजे शिकागोमा सुरक्षित अवतरण गरेको थियो।

घटनापछि सार्वजनिक भएको एयर ट्राफिक कन्ट्रोलसँगको संवादमा पाइलटले भनेका छन्, “हाम्रो विमानमा भर्खरै एउटा आतिशबाजीको वस्तु ठोक्किएको छ।” पाइलटका अनुसार विमान जमिनबाट करिब २०० फिट (६१ मिटर) उचाइमा रहेका बेला ठूलो आवाजसहित ठक्कर महसुस भएको थियो।

घटना हुनुअघि नै एयर ट्राफिक कन्ट्रोलले विमानका चालकलाई विमानस्थल नजिकका घरहरूबाट आतिशबाजी भइरहेको भन्दै सावधानी अपनाउन चेतावनी दिएको थियो। कन्ट्रोलरले रेडियोमार्फत भनेका थिए, “डेल्टा १०७६, सावधानी अपनाउनुहोस्। अवतरण मार्गको अन्त्यतर्फ रहेका धेरै घरहरूबाट आतिशबाजी भइरहेको छ।”

शिकागो प्रहरी विभागका अनुसार विमान कुनै अज्ञात वस्तुसँग ठोक्किएको थियो, जसका कारण विमानको बाहिरी भागको रङमा सामान्य क्षति पुगेको छ। संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार यो घटना स्थानीय समयअनुसार राति करिब ८:३० बजे भएको थियो।

डेल्टा एयरलाइन्सले उक्त विमान ‘एयरबस ए३१९’ रहेको र अवतरणपछि विस्तृत निरीक्षण गर्दा कुनै संरचनात्मक क्षति नभेटिएको जनाएको छ।

अमेरिकामा स्वतन्त्रता दिवसका अवसरमा ठूला आतिशबाजी कार्यक्रमहरू प्रायः संघीय, राज्य तथा स्थानीय सरकारले आयोजना गर्ने भए पनि सर्वसाधारणले निजी रूपमा पनि व्यापक रूपमा पटाका पड्काउने र आतिशबाजी गर्ने चलन छ।

यसै अवसरमा वासिङ्टन डीसीस्थित वासिङ्टन नेशनल मलमा नेशनल पार्क सर्भिसले करिब ४० मिनेट लामो भव्य आतिशबाजी प्रदर्शन गरेको थियो।

सैन्य विमानको हवाई प्रदर्शन र मध्यरातमा सुरु भएको आतिशबाजी कार्यक्रम सुरक्षित रूपमा सञ्चालन गर्न सकियोस् भनेर रोनाल्ड रेगन वासिङ्टन नेशनल विमानस्थलमा शनिबार दिउँसोदेखि केही समयका लागि उडानहरू समेत स्थगित गरिएको थियो।





Source link

Leave a Comment