प्रकाशित मिति : २१ असार २०८३, आइतबार

Photo: Praswin Prakashan/ Unsplash
अमेरिकामा पछिल्ला वर्षहरूमा बालबालिकाहरूको डुबेर मृत्यु हुने घटनामा चिन्ताजनक वृद्धि भएपछि चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले गम्भीर चेतावनी दिएका छन्।
जब पानीमा डुब्ने घटना हुन्छ, त्यहाँ ए–एक सेकेन्ड महत्त्वपूर्ण हुन्छ, अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सद्वारा जारी चेतावनीका मुख्य लेखक डा. रोहित शेनोईले भने, “तुरुन्तै गरिने उद्धार र प्राथमिक उपचारले जीवन र मरण वा आजीवन अपाङ्गता हुनबाट जोगाउन ठूलो फरक पार्न सक्छ।
तथ्याङ्कअनुसार अमेरिकामा हरेक वर्ष ४,००० देखि ५,००० मानिसको डुबेर मृत्यु हुने गर्दछ। तीमध्ये अधिकांश वयस्कहरू हुन्छन्, जसको मृत्यु ताल, पोखरी वा समुद्र जस्ता प्राकृतिक जलाशयमा हुने गर्छ। तर, बालबालिकाको हकमा यो समस्या अझै भयावह छ। १ देखि ४ वर्षसम्मका बालबालिकाको मृत्युको प्रमुख कारण डुब्नु नै हो भने ५ देखि १४ वर्षका बालबालिकाको आकस्मिक मृत्युका शीर्ष कारणहरूमध्ये यो एक हो।
प्रसिद्ध अमेरिकी खाद्य स्टोर चेन ‘स्ट्यू लियोनार्ड्स’ का मुख्य कार्यकारी स्ट्यू लियोनार्ड र उनकी पत्नी किम लियोनार्डका २१ महिनाका छोरा स्ट्यूईको सन् १९८९ मा एउटा पारिवारिक भ्रमणका क्रममा पौडी पोखरीमा डुबेर मृत्यु भएको थियो। एक पारिवारिक जमघटमा धेरै मानिस उपस्थित भए पनि सबैले हेरिरहेका होलान् भन्ने भ्रमका कारण कसैले पनि बालकलाई ध्यान दिएका थिएनन्।
बालककी आमा किम लियोनार्ड भन्छिन, “हामीले एकअर्कासँग ‘तिमीले उसलाई हेरिरहेका छौ?’ भनेर कहिल्यै सोधेनौं। जब सबैले हेरिरहेका छन् भन्ने लाग्छ, वास्तवमा त्यहाँ कसैले पनि हेरिरहेको हुँदैन।” केही मिनेटको अन्तरालमै बालक पोखरीमा फेला परेका थिए।
यही दुःखद घटनापछि लियोनार्ड दम्पतीले बालबालिकालाई पौडी सिकाउन र डुब्ने जोखिम कम गर्न एउटा प्रतिष्ठान स्थापना गरे। यस संस्थाले हालसम्म २ लाख ५० हजारभन्दा बढी बालबालिकालाई पौडी सिकाउन आर्थिक सहयोग गरिसकेको छ।
सन् १९८० को दशकमा अमेरिकामा वार्षिक करिब २,००० बालबालिकाको डुबेर मृत्यु हुने गरेकोमा जनचेतना, पौडी कक्षा र पोखरीको चारैतिर सुरक्षा बार लगाउनुपर्ने कानुनी व्यवस्थाका कारण सन् २०१९ सम्म आइपुग्दा यो संख्या ७५६ मा झरेको थियो।
तर, सन् २०१९ पछि यो सकारात्मक प्रवृत्ति उल्टियो। सन् २०२४ सम्म आइपुग्दा बालबालिकाको डुबेर हुने मृत्युको संख्या बढेर ८६५ पुग्यो, जसमा अधिकांश ५ वर्षमुनिका बालबालिका थिए।
सिडिसि फाउन्डेसनकी वरिष्ठ निर्देशक टेसा क्लेमेन्सका अनुसार कोभिड-१९ महामारीका कारण पौडी प्रशिक्षण र लाइफगार्ड तालिमहरू अवरुद्ध हुनु यसको मुख्य कारण हो, जसले गर्दा देशभर लाइफगार्डको अभाव भयो। साथै, महामारीको समयमा घरेलु पौडी पोखरीहरूको निर्माण बढ्नु र बालबालिका एक्लै पौडी खेल्नुले पनि यो जोखिम बढाएको हो।
विज्ञहरूका अनुसार प्रविधि पानीमा डुब्नासाथ बज्ने रिस्टब्यान्ड अलार्मले केही सहयोग गरे पनि यो अतिरिक्त सुरक्षा मात्र हो, प्राथमिक उपाय होइन। अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र लियोनार्ड फाउन्डेसनले डुब्नबाट जोगाउन मुख्य दुई उपायहरूमा विशेष जोड दिएका छन्:
बालबालिकाका लागि अन्य अतिरिक्त क्रियाकलाप भन्दा पौडी सिकाउनु बढी महत्त्वपूर्ण छ, किनकि यसले उनीहरूको ज्यान जोगाउँछ।बालबालिकाहरू पानीको आसपास हुँदा अभिभावकहरूले मोबाइल फोन बन्द गर्नुपर्छ, पुस्तक पढ्ने वा कुराकानीमा भुलिने गर्नु हुँदैन।
यो सबै आँखा झिम्काउने भरमा घट्न सक्छ,”स्ट्यू लियोनार्डले सचेत गराउँदै भनका छन्। त्यसैले पानीको वरिपरि हुँदा बालबालिकामाथि कडा र निरन्तर निगरानी राख्नु नै यसबाट बच्ने सबैभन्दा उत्तम उपाय हो।