प्रकाशित मिति : २० असार २०८३, शनिबार

क्रिप्टोकरेन्सीको अवैध कारोबार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीले १ करोड ४८ लाख रुपैयाँभन्दा बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गरेको अभियोगमा उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले भक्तपुर, मध्यपुर थिमी–५ का २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
प्रजापतिले सामाजिक सञ्जाल प्रयोग गरी मानिसहरूलाई विभिन्न प्रलोभन देखाएर ठगी गर्ने र सो रकमलाई अभौतिक मुद्रामा साटेर अवैध कारोबार गर्ने गरेको प्रहरीको आरोप छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका प्रजापतिले हालसम्म १ करोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँ ४६ पैसा बराबरको अभौतिक मुद्राको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ।
प्रजापतिको विभिन्न डिजिटल खातामा ७ हजार ४८५ अमेरिकी डलर (करिब ११ लाख ४१ हजार ९८३ नेपाली रुपैयाँ) मौज्दात फेला परेको प्रवक्ता भट्टराईले बताए।
पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी मानिन्छ।