प्रकाशित मिति : १८ असार २०८३, बिहिबार
फोटो :एपी/रासस
स्पेन फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वाटरफाइनलमा पुगेको छ। अस्ट्रियालाई पराजित गर्दै स्पेन अन्तिम १६ मा पुगेको हो।
अमेरिकाको लस एन्जलस स्टेडियममा भएको खेलमा अस्ट्रियालाई ३–० गोल अन्तरले पराजित गर्दै स्पेनले विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो।
स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल गरेको छ। सन् २०१० को विश्वकप जितेयता स्पेनले विश्वकपको नकआउट चरणमा जित हासिल गर्न सकेको थिएन।
खेलको ३६औँ मिनेटमा मार्क कुकुरेलाको पासमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए। पेड्रो पोरोले खेलको ६६औँ मिनेटमा दोस्रो गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे। स्पेनका लागि पोरोको यो पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो।
त्यसपछि खेलको ८९औँ मिनेटमा कुकुरेलाकै अर्को उत्कृष्ट पासमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ३–० को सहज जित निकाल्यो। स्पेनले अब अन्तिम ८ मा पुग्नका लागि पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग खेल्नुपर्नेछ।