एम्पायर स्टेट बिल्डिङको टुप्पोमा चढेर प्रेमीले गरे प्रेमिकालाई प्रपोज, दुवैजना पक्राउ



प्रकाशित मिति : १७ असार २०८३, बुधबार

gray high-rise building

तस्बिर:किट सुमन

संसारकै गगनचुम्बी भवनहरूमध्येको एक न्यूयोर्कको प्रसिद्ध ‘एम्पायर स्टेट बिल्डिङ’ को सुइरोमा अनाधिकृत रूपमा चढेर हर्कत देखाउने एक जोडीलाई न्यूयोर्क प्रहरीले पक्राउ गरेको छ।

बुधबार जमिनबाट करिब १४५० फिटको उचाइमा पुगेर यो जोडीले एउटा ठूलो कालो झण्डा फहराएका थिए। लगत्तै, उनीहरूले सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो र तस्बिरहरू पोस्ट गरेपछि घटना सार्वजनिक भएको हो।

पक्राउ पर्नेहरूमा गगनचुम्बी भवनहरू चढेर सनसनी मच्चाउन माहिर ३३ वर्षीया एन्जेला निकोलाउ र ३२ वर्षीय इभान बियरकस कुज्नेत्सोभ रहेका छन्। उनीहरूले फहराएको कालो झण्डामा लेखिएको थियो— “जब प्रेमको शक्तिले शक्तिको प्रेमलाई जित्छ, तब संसारमा शान्ति हुन्छ।”

न्यूयोर्क शहरको गगनचुम्बी आकाशमा उभिएर इभानले एन्जेलालाई घुँडा टेकेर विवाहको प्रस्ताव समेत गरेका थिए, जसको तस्बिर एन्जेलाले आफ्नो इन्स्टाग्राममा ‘करेन्ट्ली एट एम्पायर स्टेट बिल्डिङ’ भन्दै सेयर गरेकी छिन्।

यो खतरनाक हर्कत लगत्तै न्यूयोर्क प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार एन्जेलालाई अनाधिकृत प्रवेशको अभियोग लगाइएको छ।

एम्पायर स्टेट बिल्डिङको टुप्पोमा चढेर प्रेमीले गरे प्रेमिकालाई प्रपोज, दुवैजना पक्राउ

यो जोडीको खतरनाक स्टन्ट र प्रेमकथामा आधारित डकुमेन्ट्री सन् २०२४ मा रिलिज भइसकेको छ। यसअघि सन् २०२२ मा उनीहरूले मलेसियाको २००० फिटभन्दा अग्लो ‘मर्डेका ११८’ भवन चढेर संसारलाई चकित पारेका थिए।

एम्पायर स्टेट बिल्डिङको उक्त नीडलमा सञ्चार उपकरण र एन्टेनाहरू जडान गरिएका छन्, जहाँ सर्वसाधारणलाई जान पूर्ण प्रतिबन्ध छ। यसअघि सन् १९९४ मा फ्रान्सेली आरोही एलेन रोबर्टले यो ठाउँ चढेर गिनिज बुकमा नाम लेखाएका थिए।

न्यूयोर्कका गगनचुम्बी भवनहरूमा स्टन्ट गर्ने यो पहिलो घटना भने होइन। यसअघि सन् २०२३ मा अभिनेता जेरेड लेटोले आफ्नो ब्यान्डको प्रचारका लागि अनुमति लिएर भवनको ८६ औं तलाबाट टप फ्लोरसम्म चढेका थिए। तर, बुधबारको घटना भने पूर्ण रूपमा गैरकानूनी र ज्यानकै जोखिम मोलेर गरिएको प्रहरीको भनाइ छ।





Source link

Leave a Comment