प्रकाशित मिति : १६ असार २०८३, मंगलबार

फोटो :एपी/रासस
फ्रान्स फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको न्यूयोर्क/न्यूजर्सीस्थित रङ्गशालामा सम्पन्न खेलमा स्वीडेनमाथि ३–० को सानदार जित निकाल्दै साविक उपविजेता फ्रान्सले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो।
फ्रान्सलाई जित दिलाउन कप्तान किलियन एम्बाप्पेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरे। खेलको अधिकांश समय स्वीडेनमाथि हाबी भएको फ्रान्सका लागि खेलको ४५औँ मिनेटमा एम्बाप्पेले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यस्तै, खेलको ५३औँ मिनेटमा ब्राडलीले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए भने ७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल थप्दै टोलीलाई ३–० को सहज जित सुनिश्चित गराए।
जितसँगै फ्रान्सले आफू यस विश्वकपमा उपाधिको बलियो प्रत्यासी रहेको पनि प्रमाणित गरेको छ ।
यो खेलमा दुई गोल गरेसँगै कप्तान किलियन एम्बाप्पे चालू फिफा विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्।
उनले अर्जेन्टिनी कप्तान लियोनल मेसीसँग बराबरी गरेका हुन्। हाल दुवै जनाको समान ६–६ गोल पुगेको छ। क्वाटरफाइनल प्रवेशका लागि अब फ्रान्सले ‘अन्तिम १६’ को खेलमा पाराग्वेको सामना गर्नेछ।
