दक्षिण अफ्रिकामा आप्रवासीविरुद्ध प्रदर्शनको तयारी,हिंसा भड्किन सक्ने आशंका



प्रकाशित मिति : १६ असार २०८३, मंगलबार

दक्षिण अफ्रिकामा आप्रवासीविरुद्ध प्रदर्शनको तयारी,हिंसा भड्किन सक्ने आशंका

दक्षिण अफ्रिकामा आप्रवासीविरुद्ध प्रदर्शनको तयारी भएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आप्रवासीविरुद्ध प्रदर्शन गर्न चाहनेहरूलाई कसैलाई पनि डर, धम्की वा जबर्जस्ती नगर्न आग्रह गरेका छन्।

कागजातविहीन विदेशी नागरिकहरूले देश छाड्नुपर्ने अनौपचारिक समयसीमा सकिन लागेका बेला उनले यस्तो आग्रह गरेका हुन्। पछिल्ला केही सातायता हिंसाको त्रासका कारण अन्य अफ्रिकी मुलुकका हजारौँ नागरिक दक्षिण अफ्रिका छाडेर आफ्नो देश फर्किसकेका छन्।

कागजातविहीन एक मलावी नागरिकले आफू स्वदेश फर्कन पाउँदा खुसी लागेको तर दक्षिण अफ्रिकामा रहेका आफ्ना चार साना सन्तानलाई छोड्नुपरेकाले निकै दुःखी भएको बताएका छन्।

हालका महिनाहरूमा आप्रवासीविरुद्धका प्रदर्शन बढ्दै गएपछि राष्ट्रपति रामाफोसाले पटक–पटक शान्तिपूर्ण र जिम्मेवार ढङ्गले प्रदर्शन गर्न आग्रह गर्दै आएका छन्। साथै, उनले आप्रवासन व्यवस्थामा सुधार आवश्यक रहेको कुरा पनि स्वीकार गरेका छन्।

सरकारी तथ्याङ्कअनुसार दक्षिण अफ्रिकामा ३० लाखभन्दा बढी वैधानिक कागजात भएका विदेशी नागरिक बसोबास गरिरहेका छन्।

दक्षिण अफ्रिकामा आप्रवासीविरुद्ध प्रदर्शनको तयारी,हिंसा भड्किन सक्ने आशंका

अनौपचारिक समयसीमा सकिनुअघि सुरक्षाको चिन्ताले हजारौँ आप्रवासी केही सातादेखि अस्थायी शिविरमा बस्दै आएका छन् र उनीहरू आवश्यक प्रक्रिया पूरा हुने प्रतीक्षामा छन्।

सबैभन्दा बढी प्रदर्शन भएका सहरहरूमध्ये एक डरबनमा अधिकांश मलावी नागरिक बसोबास गरिरहेको अस्थायी शिविर हटाउने काम भइरहेको छ। उनीहरूलाई जतिसक्दो छिटो स्वदेश फर्काउने तयारी भइरहेको छ। रङ्गीचङ्गी पहिरन लगाएका महिलाहरू आफ्ना सामानसँगै बसेर मलावी फर्किने सवारीसाधनको प्रतीक्षामा देखिन्थे।

प्रहरीले प्रदर्शनका क्रममा परम्परागत हतियार बोक्न नपाइने स्पष्ट पारेको छ। यसले प्रदर्शनकारी र प्रहरीबीच तनाव बढ्न सक्ने अनुमान गरिएको छ, किनभने प्रदर्शनमा सहभागी धेरैजसो जुलु (Zulu) समुदायका छन्। उनीहरू परम्पराअनुसार जुलुसमा ढाल, कोर्रा र लठ्ठी बोकेर सहभागी हुने गर्छन्।

सरकारका अनुसार यस वर्षको सुरुदेखि आप्रवासीविरुद्ध प्रदर्शन सुरु भएयता १२ हजारभन्दा बढी आप्रवासीलाई देशनिकाला गरिएको वा स्वदेश फिर्ता पठाइएको छ।

घाना, मलावी, मोजाम्बिक, नाइजेरिया र जिम्बाब्वेले पछिल्ला केही सातायता हवाई तथा स्थलमार्गबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउने व्यवस्था गरेका छन्। हालसम्म करिब ३ हजार ५ सय विदेशी नागरिक स्वेच्छाले आफ्नो देश फर्किएका छन्।

दक्षिण अफ्रिकी अधिकारीहरूले स्वदेश फर्काइएका ५ सयभन्दा बढी नाइजेरियाली नागरिकसँग आवश्यक कागजात नभएको दाबी गरेका छन्, तर नाइजेरियाले उक्त दाबी अस्वीकार गरेको छ।

सन् २००८ मा दक्षिण अफ्रिकामा विदेशी नागरिकविरुद्ध भएको व्यापक हिंसात्मक घटनामा ६० जनाभन्दा बढीको ज्यान गएको थियो।





Source link

Leave a Comment