प्रकाशित मिति : १४ असार २०८३, आइतबार

अमेरिका र इरान तत्कालका लागि तनाव कम गर्न सहमत भएका छन्। अमेरिकाले इरानसँग पछिल्ला केही दिनदेखि हर्मुज जलमार्ग नजिक भएको सैन्य तनावपछि दुवै पक्ष तत्कालका लागि सैन्य गतिविधि रोक्न सहमत भएको जनाएको हो।
ट्रम्प प्रशासनका अधिकारीका अनुसार दुवै देशले अहिलेका लागि तनाव कम गर्ने सहमति गरेका छन्। जसका कारण जलमार्गबाट जहाजहरूको आवागमन विनाअवरोध सञ्चालन हुन सक्नेछ।
यद्यपि, यस विषयमा इरानको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन।
अमेरिका र इरानबीच थप छलफलका लागि मंगलबार कतारको राजधानी दोहामा उच्चस्तरीय वार्ता हुने तय भएको छ।
गत सप्ताहन्तमा दुवै देशबीच भएको आरोप–प्रत्यारोप र सैन्य गतिविधिले अमेरिका–इरानबीचको कमजोर सहमतिलाई चुनौती दिएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आक्रमण जारी राखे थप सैन्य कारबाही गरिने चेतावनी दिएका छन्। त्यसको जवाफमा इरानले युद्धविराम उल्लङ्घन भए सबै कूटनीतिक प्रक्रिया पूर्ण रूपमा रोकिने चेतावनी दिएको छ।
दुवै देशबीच हुने दोहाको वार्तालाई क्षेत्रीय तनाव कम गर्ने तथा सम्भावित द्वन्द्व टार्ने प्रयासका रूपमा हेरिएको छ।
यसैबीच इरानले हर्मुज जलमार्गमाथिको आफ्नो नियन्त्रण कायम रहने अडान दोहोर्याएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा सामान्य वृद्धि भएको छ।
आइतबार ब्रेन्ट कच्चा तेलको मूल्य करिब ० दशमलव ९ प्रतिशतले बढेर प्रतिब्यारेल ७२ दशमलव २० अमेरिकी डलर पुगेको छ। त्यस्तै, अमेरिकी कच्चा तेल (डब्लुटिआई) को मूल्य १ दशमलव ३ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ७० दशमलव ०९ डलर पुगेको छ।
६० दिने युद्धविरामले हर्मुज जलमार्ग हुँदै हुने तेल आपूर्ति पुनः सहज हुने अपेक्षाका कारण गत साता तेलको मूल्य घटेको थियो। विश्वको करिब २० प्रतिशत कच्चा तेल यही जलमार्गबाट ढुवानी हुने भएकाले यसको सञ्चालनलाई विश्व ऊर्जा बजारका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ।
जुन १७ मा अमेरिका र इरानबीच भएको सहमतिपछि दुवै पक्षले हर्मुज जलमार्ग शुल्कविहीन रूपमा सञ्चालन हुने घोषणा गरेका थिए। त्यसपछि तेल ट्याङ्करहरूको आवागमन बढेको थियो।
तर बिहीबार इरानले जलमार्गमा जहाजमाथि आक्रमण गरेपछि जहाजहरूको आवतजावत पुनः सुस्त बनेको छ। साथै, संयुक्त राष्ट्रसंघले त्यहाँ अलपत्र परेका नाविक तथा जहाजहरूको उद्धार योजना पनि अस्थायी रूपमा स्थगित गरेको छ।
विशेषज्ञहरूका अनुसार समुद्री व्यापार पुनः सञ्चालन हुँदैमा तेलको मूल्य पहिलेकै स्तरमा फर्किने सम्भावना छैन। युद्धका कारण क्षतिग्रस्त ऊर्जा पूर्वाधारको मर्मत गर्न समय लाग्ने र हर्मुज जलमार्गबाट तेलवाहक जहाजहरूको पूर्ण सञ्चालन सामान्य अवस्थामा फर्किन अझै केही महिना लाग्न सक्ने अनुमान गरिएको छ।
