प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार

फोटो :एपी/रासस
भेनेजुएलामा गएको शक्तिशाली भूकम्पका क्रममा आफ्नी सानी छोरीको ज्यान बचाउने प्रयास गर्दा एक आमाको मृत्यु भएको छ। फुटबल खेलाडी हेक्टर बेलोले आफ्नो इन्स्टाग्राममा आफ्नी पत्नी एन्ड्रियाले दुई वर्षीया छोरीको ज्यान बचाउने क्रममा आफ्नै जीवन बलिदान गरेको उल्लेख गरेका छन्।
उनले भावुक हुँदै लेखेका छन्, “म छोरीलाई सधैँ तिम्रो कथा सुनाउनेछु—तिमीले कसरी उसको ज्यान बचायौ, आफ्नो जीवन त्याग्यौ, र अन्तिम साससम्म पनि उसलाई छाडिनौ। तिमी अत्यन्त साहसी आमा थियौ।”
उद्धारकर्मीहरूले राजधानी कराकास नजिक आएका दुई शक्तिशाली भूकम्पपछि भग्नावशेषमा जीवित व्यक्तिहरूको खोजी कार्य जारी राखेका छन्। बुधबार आएको भूकम्पमा हालसम्म कम्तीमा ९२० जनाको मृत्यु भएको छ भने ३ हजारभन्दा बढी घाइते भएका छन्।
बेलोले कराकास पुगेपछि आफ्नी छोरी अस्पतालमा उपचाररत रहेको जानकारी दिएका छन्। उनले अर्को पोस्टमा लेखेका छन्, “मेरी छोरी र उनकी फुपूको स्वास्थ्य अवस्था अहिले राम्रो छ। उनीहरूलाई आजै अस्पतालबाट डिस्चार्ज भने गरिने छैन। यो असह्य पीडाको समयमा साथ र समर्थन गर्ने सबैप्रति म हार्दिक आभारी छु।”
अर्को इन्स्टाग्राम स्टोरीमा उनले लेखेका छन्, “छोरीलाई कसरी सम्झाऊँ कि उसकी आमाले उसको ज्यान बचाउन आफ्नो जीवन गुमाइन्? म त्यहाँ केही गर्न पनि उपस्थित हुन सकिनँ। मलाई शक्ति देऊ।”
स्थानीय फुटबल सञ्चार संस्था ‘कुमाना दे काम्पियोनेस’ले पनि एन्ड्रियाको मृत्युको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “कुमानाका फुटबल खेलाडी हेक्टर बेलो ‘किके’की जीवनसाथी देशमा आएको भूकम्पपछि भवन भत्किँदा भग्नावशेषमा मृत अवस्थामा फेला परेकी छन्।” संस्थाले बेलोकी छोरी भने भवन भत्किँदा पनि सकुशल बचेको जनाएको छ।
भूकम्पपछि मृत्यु हुनेको सङ्ख्या निरन्तर बढिरहेको छ। अझै धेरै व्यक्ति बेपत्ता रहेका कारण उद्धार तथा खोजी कार्य जारी छ।
कराकास फुटबल क्लबले आफ्नो १८ वर्षमुनिको टोलीका खेलाडी रजान सिजाले आफ्ना परिवारका सदस्यहरूसहित ला गुआइरास्थित घरमा ज्यान गुमाएको जनाएको छ।
सरकारी अधिकारीहरूका अनुसार उद्धारकर्मीहरू अझै पनि भग्नावशेषमा जीवित व्यक्तिहरूको खोजीमा जुटिरहेका छन्। यता, आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउन परिवारजनहरू व्यग्र प्रतीक्षामा छन्।
घाइतेहरूको उपचार अस्थायी रूपमा स्थापना गरिएका स्वास्थ्य शिविर तथा उपचार केन्द्रहरूमा भइरहेको छ। भूकम्पका कारण राजधानी कराकाससहित देशको उत्तरी क्षेत्रमा रहेका दर्जनौँ भवन पूर्ण रूपमा ध्वस्त भएका छन्।
सरकारका एक वरिष्ठ अधिकारीले सयौँ अन्तर्राष्ट्रिय उद्धारकर्मीहरू भेनेजुएला आइपुगेको र थप उद्धार टोलीहरू आउने क्रममा रहेको जानकारी दिएका छन्।
गत बुधबार केही सेकेन्डको अन्तरालमा लगातार दुई शक्तिशाली भूकम्पले भेनेजुएलालाई हल्लाएका थिए। तीमध्ये दोस्रो भूकम्प ७.५ म्याग्निच्युडको रहेको थियो, जुन पछिल्लो एक शताब्दीमा भेनेजुएलामा आएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ।
