प्रकाशित मिति : ११ असार २०८३, बिहिबार

भेनेजुएलाको राजधानी काराकासमा बिहीबार, जुन २५, २०२६ मा आएको भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा स्थानीय बासिन्दा र उद्धारकर्मीहरू खोज तथा उद्धार कार्यमा जुटिरहेका छन्। फोटो: एपी /अरिआना कुबिलोस/रासस
भेनेजुएलामा बुधबार साँझ आएका दुईवटा शक्तिशाली लगातार भूकम्पका कारण कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने झन्डै १,००० जना घाइते भएका छन्। ७.२ र ७.५ म्याग्निच्युडका यी भूकम्पहरू विगत एक शताब्दीभन्दा बढी समययताकै सबैभन्दा शक्तिशाली मानिएका छन्। भत्किएका भवनहरूको भग्नावशेषभित्र अझै धेरै मानिसहरू थुनिएको आशंकामा बिहीबार उद्धार टोलीहरूले खोजतलास तीव्र पारेका छन्।
यस विनाशकारी भूकम्पको धक्का राजधानी काराकासबाट करिब १,७०० किलोमिटर टाढा रहेको ब्राजिलको अमेजन क्षेत्रसम्म महसुस गरिएको थियो। भूकम्पका कारण भेनेजुएलाको मुख्य सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिरा परेर क्षति पुगेपछि विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार राजधानी काराकासको उत्तरमा पर्ने तटीय क्षेत्र ‘ला गुइरा’ भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको छ र यसलाई ‘विपद् क्षेत्र’ घोषणा गरिएको छ। ला गुइरामा दर्जनौँ भवनहरू भत्किएका छन्। बिहीबार राज्य नियन्त्रित टेलिभिजनले भग्नावशेषबाट तीन जना बालबालिकालाई जीवितै उद्धार गरिएको भिडियो सार्वजनिक गरेको छ।
भूकम्पका कारण काराकासका कतिपय क्षेत्रमा विद्युत् र मोबाइल नेटवर्क अवरुद्ध भएको छ भने सबवे सेवा स्थगित गरी प्राकृतिक ग्यासको आपूर्ति समेत बन्द गरिएको छ। केही दिनका लागि विद्यालयहरू बन्द गरेर तिनलाई आश्रयस्थल र सहयोग संकलन केन्द्रका रूपमा प्रयोग गर्न थालिएको छ। धेरै नागरिकहरू पराकम्पको डरले रातभर खुला सडक, पार्क र पार्किङ स्थलहरूमा बसेका थिए।
यसैबीच, संयुक्त राष्ट्र संघको मानव अधिकार मिसनले नागरिकहरूलाई आफ्ना परिवारसँग सम्पर्क गर्न र सूचना आदानप्रदान गर्न सहज होस् भनी सामाजिक सञ्जालमा लगाइएको स्थानीय प्रतिबन्ध हटाउन सरकारलाई आग्रह गरेको छ।
कार्यवाहक राष्ट्रपति रोड्रिगेजले देशमा आपत्कालीन अवस्थाको घोषणा गर्दै अस्पताल र घरहरूको पुनर्निर्माणका लागि २०० मिलियन डलरको पुनर्निर्माण कोष स्थापना गरिएको जानकारी दिएका छन्।
विपद्को यस घडीमा विश्वभरबाट सहयोगको प्रतिबद्धता आइरहेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले तत्काल खोज तथा उद्धार टोली, चिकित्सा सामग्री र मानवीय सहायता परिचालन गरिरहेको बताउनुभएको छ। त्यस्तै कतार, मेक्सिको, इक्वेडर र एल साल्भाडोरले पनि उद्धारकर्मी र राहत सामग्री पठाइसकेका छन्।
