उडानकै क्रममा मुख्य पाइलट बेहोस, सह-चालकले गराए विमानको सुरक्षित अवतरण



प्रकाशित मिति : १० असार २०८३, बुधबार

उडानकै क्रममा मुख्य पाइलट बेहोस, सह-चालकले गराए विमानको सुरक्षित अवतरण

Photo: David Syphers /Unsplash

न्युजर्सीको नेवार्कबाट क्यानाडाको ह्यालिफ्याक्सका लागि उडेको एयर क्यानाडाको एउटा विमानका क्याप्टेन अचानक बेहोस भएपछि विमानलाई बोस्टनतर्फ मोडिएको छ। को-पाइलटले सफलतापूर्वक विमानलाई बोस्टनको लोगान विमानस्थलमा सुरक्षित अवतरण गराएका छन्।

एयर क्यानाडाको उडान सङ्ख्या ७६६४ को उक्त विमानमा ६१ जना यात्रु सवार थिए। “उडानका क्रममा क्याप्टेनमा स्वास्थ्य समस्या देखिएपछि सुरक्षा मापदण्डअनुसार उनलाई ककपिटबाट हटाइएको थियो, एयर क्यानाडाले आफ्नो विज्ञप्तिमा भनेको छ, त्यसपछि फस्ट अफिसरले विमानको नियन्त्रण सम्हाल्दै बोस्टनतर्फ मोडेर सुरक्षित अवतरण गराए। हाम्रा पाइलटहरू दोस्रो पाइलटको सहयोग बिना नै विमान एक्लै उडाउन र सुरक्षित अवतरण गराउन पूर्ण रूपमा प्रशिक्षित हुन्छन्।

विमानस्थलमा विमान अवतरण हुनासाथ एम्बुलेन्सहरू धावनमार्गमै पुगेका थिए र स्ट्रेचरमार्फत क्याप्टेनलाई ककपिटबाट बाहिर निकालिएको थियो। विमान ओर्लेको केही मिनेटभित्रै उनलाई नजिकैको एम्बुलेन्समा राखेर मास जनरल अस्पताल लगिएको बोस्टन इएमएसले जनाएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन।

उड्डयन विशेषज्ञ प्याट्रिक स्मिथका अनुसार हरेक विमानमा दुई जना पाइलट हुनुको मुख्य कारण नै यही हो। उनले भने, धेरै मानिसहरूलाई सह-चालक भनेको काम सिक्दै गरेको प्रशिक्षार्थी मात्र हो जस्तो लाग्छ, तर वास्तवमा त्यस्तो होइन। दुवै पाइलट पूर्ण रूपमा योग्य हुन्छन् र विमान चलाउन सक्छन्।





Source link

Leave a Comment