अमेरिकी उपराष्ट्रपति भान्स विवादमा तानिए, २०२८ को राष्ट्रपति यात्रा सङ्कटमा



प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार

फोटो : एपी/रासस

अमेरिकी उपराष्ट्रपति जेडी भान्स विवादमा तानिएका छन्। अमेरिका र इरानबिच भएको भनिएको सम्झौता विवादको केन्द्रमा परेपछि यसको नेतृत्व गर्दै आएका अमेरिकी उपराष्ट्रपति जेडी भान्स विवादमा तानिएका छन्। अमेरिका र इरानबिचको युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको शान्ति सम्झौताको प्रमुख अनुहार भान्स बनेका थिए।

तर, भान्स अहिले तीव्र राजनीतिक दबाबमा परेका छन्। सुरुमा आफ्नो राजनीतिक करियरको ठूलो उपलब्धि बन्न सक्ने अपेक्षा गरिएको उक्त सम्झौता अहिले विवादको केन्द्रमा पुगेपछि भान्सको सन् २०२८ को राष्ट्रपति निर्वाचनको सम्भावित यात्रासमेत प्रभावित हुन सक्ने विश्लेषण हुन थालेको छ।

इरानसँगको महिनौँ लामो द्वन्द्व अन्त्य गर्न ट्रम्प प्रशासनले अघि सारेको सम्झौताप्रति रिपब्लिकन पार्टीभित्रै तीव्र असन्तुष्टि देखिएको छ। केही प्रभावशाली रिपब्लिकन नेताहरूले सम्झौतालाई इरानप्रति अत्यधिक उदार भएको भन्दै आलोचना गरेका छन्।

शुक्रबार स्विट्जरल्यान्डमा हुने भनिएको औपचारिक शिखर सम्मेलन अन्तिम समयमा स्थगित भएपछि भान्सको भूमिका झन् विवादित बनेको छ। भान्सले स्विट्जरल्यान्ड जाने आफ्नो यात्रा पनि रद्द गरेका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति भान्सले सम्झौताको भविष्यबारे फरक–फरक अभिव्यक्ति दिएका छन्। इरानले सम्झौता उल्लङ्घन गरे के हुन्छ भन्ने विषयमा दुवै नेताको धारणा नमिलेको देखिएको छ।

इरानसँग युद्ध सुरु हुनुअघि नै भान्सले कूटनीतिक समाधान खोज्ने प्रयास गरिरहेका थिए। उनले गत फेब्रुअरीमा ओमानका विदेशमन्त्रीसँग भेटवार्ता गर्दै युद्ध टार्ने प्रयास गरेका थिए। तर, त्यसको भोलिपल्ट नै ट्रम्प प्रशासनले इरानमाथि व्यापक सैन्य आक्रमण गरेको थियो।

युद्धका क्रममा पनि भान्सले विभिन्न माध्यमबाट वार्ताको वातावरण बनाउन भूमिका खेलेका थिए। पछि उनी पाकिस्तानमा भएको अमेरिका–इरान प्रत्यक्ष वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्नसमेत पुगेका थिए। यद्यपि, उक्त वार्ता निष्कर्षविहीन भएपछि उनको आलोचना भएको थियो।

त्यसपछि पनि भान्स शान्ति सम्झौताको प्रक्रियामा सक्रिय रहे। हालै सम्पन्न समझदारीपत्र तयार पार्ने प्रक्रियामा समेत उनी प्रत्यक्ष संलग्न रहेको बताइएको छ। भान्सले यस सम्झौतालाई अमेरिकी जनताका लागि ठूलो सफलता भएको दाबी गरेका छन्।

तर, सम्झौताको विवरण सार्वजनिक भएसँगै विरोध चर्किएको छ। धेरै रिपब्लिकन सांसदहरूले इरानमाथिका प्रतिबन्ध हटाउने प्रस्तावलाई गलत कदम बताएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार सम्झौता सफल भए भान्सको राजनीतिक छवि बलियो बन्न सक्छ। तर, असफल भएमा त्यसको सम्पूर्ण राजनीतिक मूल्य उनले चुकाउनुपर्ने अवस्था आउन सक्ने सम्भावना बलियो छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र भान्सबिचको राजनीतिक प्रतिस्पर्धाबारे पनि चर्चा यति नै बेला सुरु भएको छ। इरान सम्झौतामाथि विवाद बढिरहेका बेला रुबियो सार्वजनिक रूपमा धेरै बोल्नबाट जोगिएका छन्।

कतिपय विश्लेषकहरूले भने सम्झौता सफल भए भान्सले विदेश नीतिमा आफ्नो नेतृत्व क्षमता प्रमाणित गर्ने अवसर पाउने बताएका छन्। तर, ह्वाइट हाउसभित्रकै केही अधिकारीहरू यो सम्झौताले दीर्घकालीन शान्ति स्थापना गर्ने सम्भावना कम रहेको बताउँछन्।

ट्रम्पले “यदि ६० दिनभित्र सम्झौता सफल भएन भने अमेरिका फेरि बमबारीमा फर्कनेछ” भनी चेतावनी दिएका छन्। यस अभिव्यक्तिले अमेरिका–इरान सम्बन्धमा अझै पनि अनिश्चितता कायम रहेको देखाउँछ।





Source link

Leave a Comment

Translate »