प्रकाशित मिति : ३ असार २०८३, बुधबार

जुलाई २०२६ को भिसा बुलेटिनअनुसार परिवारमा आधारित ग्रिनकार्डका लागि फाइल गर्ने र भिसा पाउने मितिमा अधिकांश श्रेणीमा अग्रता कायम भएको छ भने केही श्रेणी स्थिर रहेका छन्। अमेरिकाभित्र रहेका आवेदकका लागि ग्रिनकार्डवाहकका दम्पती र २१ वर्षमुनिका छोराछोरीको फाइल गर्ने मिति अघिल्ला महिनाजस्तै जुलाईमा पनि करेन्ट नै रहने भएको छ। यसको अर्थ, यस श्रेणीका आवेदकहरूले आफ्नो प्राथमिकता मिति जुनसुकै भए पनि समायोजनका लागि आवेदन दिन सक्नेछन्।
अमेरिकी नागरिकका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड फाइल गर्ने प्राथमिकता मिति जुन महिनामा १ अक्टोबर २०१८ रहेकोमा जुलाईका लागि १ जनवरी २०१९ कायम गरिएको छ। त्यसैगरी, २१ वर्षमाथिका अविवाहित छोराछोरीको ग्रिनकार्ड फाइल गर्ने मिति जुनमा २२ मार्च २०१८ रहेकोमा जुलाईमा ८ जुन २०१८ पुगेको छ।
विवाहित छोराछोरीको हकमा ग्रिनकार्ड फाइल गर्ने मिति जुनमा ८ डिसेम्बर २०१२ रहेकोमा जुलाईमा पनि सोही मिति स्थिर रहेको छ। दाजुभाइ तथा दिदीबहिनीको ग्रिनकार्ड फाइल गर्ने प्राथमिकता मिति जुनमा २२ डिसेम्बर २००९ रहेकोमा जुलाईमा १ मार्च २०१० पुगेको छ। भारतको सन्दर्भमा भने अन्य सबै मिति अन्य देशसरह रहे पनि दाजुभाइ तथा दिदीबहिनीको ग्रिनकार्ड फाइल गर्ने प्राथमिकता मिति १५ डिसेम्बर २००६ मै स्थिर रहेको छ।
भिसा अन्तर्वार्ता वा ग्रिनकार्ड जारी हुने अन्तिम निर्णय मितिमा पनि ग्रिनकार्डवाहकका दम्पती र २१ वर्षमुनिका छोराछोरीबाहेक अन्य श्रेणीमा अग्रता कायम भएको छ। अमेरिकी नागरिकका अविवाहित छोराछोरीको प्राथमिकता मिति जुनमा १ सेप्टेम्बर २०१७ रहेकोमा जुलाईका लागि अग्रता कायम भई १ फेब्रुअरी २०१८ पुगेको छ। २१ वर्षमाथिका अविवाहित छोराछोरीको श्रेणीमा पनि प्राथमिकता मितिमा केही अग्रता हुँदै जुनको २२ सेप्टेम्बर २०१७ बाट जुलाईमा २२ नोभेम्बर २०१७ पुगेको छ।
विवाहित छोराछोरी श्रेणीमा जुन महिनामा १५ फेब्रुअरी २०१२ रहेकोमा जुलाईमा १५ अप्रिल २०१२ पुगेको छ। दाजुभाइ तथा दिदीबहिनी श्रेणीमा ८ नोभेम्बर २००८ बाट अग्रता कायम भई जुलाईका लागि १ जनवरी २००९ पुगेको छ। ग्रिनकार्डवाहकका दम्पती र २१ वर्षमुनिका छोराछोरी श्रेणीको अन्तिम निर्णय मिति भने जुलाईका लागि पनि १ जनवरी २०२५ मै स्थिर रहेको छ।
भारतको सन्दर्भमा भने अन्य सबै मिति अन्य देशसरह रहे पनि दाजुभाइ तथा दिदीबहिनीको भिसा अन्तर्वार्ता वा ग्रिनकार्ड जारी हुने अन्तिम निर्णय मिति १ नोभेम्बर २००६ मै स्थिर रहेको छ।
जनवरी २१ देखि अमेरिकाको विदेश मन्त्रालयले नेपाललगायत ७५ देशका नागरिकका आप्रवासी भिसा प्रक्रियामा रोक लगाएकाले भिसा अन्तर्वार्तालगायतका सबै प्रक्रिया पूरा भए पनि भिसा जारी गरिएको छैन। त्यसकारण सबै प्रक्रिया पूरा गरेका आवेदकहरू पनि भिसा लिएर अमेरिका आउन पाएका छैनन्। जनवरी २१ अघि भिसा प्राप्त गरिसकेकाहरूलाई भने अमेरिका आउन रोक लगाइएको छैन।
