प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार

नेपालको खानपानको इतिहासमा बाजेको सेकुवा एउटा यस्तो नाम हो जसले सडक किनारको एउटा सानो पसललाई अन्तर्राष्ट्रिय ब्रान्डमा परिणत गरिदियो । यसको कथा करिब चार दशकअघि काठमाडौंको सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भित्तो नजिकैबाट सुरु हुन्छ । सन् १९७० को दशकको उत्तरार्धमा दीनानाथ भण्डारीले एउटा सानो स्टलबाट सेकुवा बेच्न सुरु गरेका थिए । भण्डारीले आफ्नो विशेष घरेलु मसला र कोइलाको रापमा पकाएको खसीको मासुको स्वाद यति अद्वितीय थियो कि मानिसहरू टाढा–टाढाबाट त्यहाँको सेकुवा खान आउन थाले ।
दीनानाथ भण्डारी ‘बाजे’को नामले परिचित थिए । उनले बनाएको सेकुवा भएकाले नै ग्राहकले यसलाई बाजेको सेकुवा भन्न थाले । यही अनौपचारिक नाम नै पछि नेपालको सबैभन्दा प्रतिष्ठित रेस्टुरेन्ट चेनको आधिकारिक पहिचान बन्यो । सुरुका दिनमा एउटा सानो बेन्च र सीमित ठाउँबाट सुरु भएको यो व्यवसायमा बाजेले आफ्नै हातले मसला पिस्ने र मासु मोल्ने गर्थे । जसले गर्दा यसको स्वादमा एउटा छुट्टै मौलिकता थियो । बाजेको यो विरासतलाई उनका छोरा चेतन भण्डारीले सन् १९९० को दशकको अन्त्यतिर एउटा व्यवस्थित व्यावसायिक ढाँचामा ढाल्दै काठमाडौंका विभिन्न ठाउँमा शाखा विस्तार गरे । उनकै भिजनका कारण बाजेको सेकुवा नेपालको पहिलो यस्तो रेस्टुरेन्ट बन्यो जसले अन्तर्राष्ट्रिय बजारमा फ्रेन्चाइज मोडलमा जान साहस ग¥यो ।
यही ऐतिहासिक जगमा उभिएर बाजेको सेकुवाले सन् २०१८ मा न्युयोर्कको क्विन्सस्थित सन्निसाइडमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय पाइला टेकेको थियो । ४३–१६ क्विन्स बुलेभार्डमा अवस्थित यो शाखा आज न्युयोर्कमा नेपाली हस्पिटालिटीको एउटा बलियो खम्बा बनेको छ । सिनामंगलको धुलो र कोइलाको गन्धबाट सुरु भएको यो यात्रा आज न्युयोर्कका आधुनिक भान्साहरूसम्म पुग्नु भनेको नेपाली उद्यमी र स्वादको विश्वव्यापी विजय हो ।

न्युयोर्क शाखाको मेनुमा नेपालको त्यही चर्चित मटन सेकुवा मुख्य आकर्षणका रूपमा छ । यसका साथै हाँसको छोइला, सुकुटी साँधेको, भुटन र झोल मःमःजस्ता परिकारले ग्राहकलाई नेपालकै रेस्टुरेन्टमा बसेको अनुभूति गराउँछन् । यहाँको खानामा प्रयोग गरिने मसला नेपालबाटै आयात गरिने हुनाले स्वादमा कुनै सम्झौता गरिएको पाइँदैन । सेकुवालाई कोइलाको आगोमा बिस्तारै पकाउँदा आउने त्यो विशिष्ट सुगन्धले न्युयोर्कको बुलेभार्डमा हिँड्ने जो कोहीलाई पनि आकर्षित गर्ने गर्दछ ।
बाजेको सेकुवा न्युयोर्कको आन्तरिक सजावट र परिवेशले नेपाली संस्कृति र आधुनिकतालाई निकै कलात्मक ढंगले प्रस्तुत गरेको छ । रेस्टुरेन्टका भित्ताहरूमा नेपाली कला, संस्कृति र बाजेको सेकुवाको इतिहास झल्किने तस्बिर सजाइएका छन् । यहाँको वातावरण निकै न्यानो र पारिवारिक छ । जहाँ नेपाली गीत–संगीतको मधुर धूनले भोजनको आनन्दलाई अझ बढाइदिन्छ । साँझको समयमा यहाँको प्रकाश व्यवस्था र बस्ने व्यवस्थाले एउटा ‘प्रिमियम डाइनिङ’को अनुभव प्रदान गर्दछ । जसले गर्दा यो रेस्टुरेन्ट नेपाली समुदाय मात्र नभई विदेशी पर्यटकका लागि पनि उत्तिकै लोकप्रिय छ ।
न्युयोर्कको भव्य सफलतापछि बाजेको सेकुवाको सञ्जाल अमेरिकाका अन्य राज्यमा पनि फैलिन थाल्यो । टेक्ससको इर्भिङ र कोलोराडोको अरोरामा खुलेका शाखाले पनि बाजेको त्यही चार दशक पुरानो विरासत र स्वादलाई निरन्तरता दिइरहेका छन् । टेक्ससको इर्भिङ शाखाले त्यहाँको विशाल नेपाली समुदायलाई समेटेको छ । कोलोराडोको अरोरामा रहेको आउटलेटले पहाडी भेगको चिसो मौसममा तातो सेकुवा र नेपाली खाजाको आनन्द पस्किरहेको छ ।
बाजेको सेकुवा आज केवल एउटा रेस्टुरेन्ट मात्र होइन । यो एउटा यस्तो जीवित इतिहास हो जसले नेपाली मौलिक स्वाद र आतिथ्यलाई विश्वको नक्सामा सम्मानजनक स्थान दिलाएको छ । नेपालको एउटा कुनाबाट सुरु भएको यो यात्राले आज अमेरिकाका प्रमुख सहरहरूमा नेपाली गौरवको झन्डा फहराइरहेको छ ।
यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।
यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)
