प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार
Photo by National Cancer Institute
न्यूयोर्क राज्यमा बसोबास गर्ने र सङ्घीय गरिबी रेखाको २०० देखि २५० प्रतिशतसम्म आम्दानी भएका ४ लाख ५० हजारभन्दा बढी न्यूयोर्कवासीहरूका लागि स्वास्थ्य बीमा सम्बन्धि एउटा ठूलो र महत्त्वपूर्ण खबर छ। सङ्घीय कोषमा आएको परिवर्तनका कारण न्यूयोर्क राज्यले यसै महिनाको अन्त्यदेखि ‘इसेन्सियल प्लान २००-२५०’ बन्द गर्ने भएको छ।
कम आम्दानी भएका र स्वास्थ्य बीमा धान्न गाह्रो परेका नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको यो कार्यक्रम आगामी जुन ३० देखि पूर्ण रूपमा बन्द हुनेछ। सङ्घीय कोषमा भएको कटौतीले हाल कुल १७ लाख न्यूयोर्कवासीहरूलाई सेवा दिइरहेका विभिन्न स्वास्थ्य योजनाहरूलाई प्रत्यक्ष असर पार्ने देखिएको छ।
न्यूयोर्क राज्यको स्वास्थ्य विभागले सङ्घीय सरकारको ‘सेन्टर्स फर मेडिकेड एन्ड मेडिकेयर सर्भिस’ समक्ष आफ्नो ‘१३३२ स्टेट इनोभेसन वेभर’ खारेज गरी ‘बेसिक हेल्थ प्रोग्राम’लाई पुनः सक्रिय गराउन अनुरोध गरेको थियो। उक्त अनुरोधलाई सेन्टर्स फर मेडिकेड एन्ड मेडिकेयर सर्भिसले गत मार्च २० मा स्वीकृत गरिसकेको छ।
यो नयाँ स्वीकृतिका कारण ‘बेसिक हेल्थ प्रोग्राम’ अन्तर्गत करिब १३ लाख मानिसहरूको स्वास्थ्य बीमा त सुरक्षित रहनेछ, तर ४ लाख ५० हजार न्यूयोर्कवासीहरूले भने आगामी जुलाई १ देखि आफ्नो इसेन्सियल प्लान गुमाउने निश्चित भएको छ।
यो परिवर्तनबाट प्रभावित हुनेहरूका लागि अन्य वैकल्पिक उपायहरू उपलब्ध छन्। प्रभावित सबैलाई तत्काल ‘न्यूयोर्क स्टेट अफ हेल्थ’ मा फोन गरेर आगामी कदमबारे बुझ्न आग्रह गरिएको छ। नयाँ स्वास्थ्य बीमामा दर्ता हुनका लागि जुन १५ सम्मको अन्तिम म्याद तोकिएको छ।
आम्दानीको दायरा क्रमश ३१,९२०, ४३,२८०, ५४,६४० र ६६,००० डलरसम्म सम्म हुनेहरुका लागि इसेन्सियल प्लानका अन्य संस्करणहरू उपलब्ध छन्। मेडिकेड मार्फत वा मार्केटप्लेसमा उपलब्ध विभिन्न मेडल लेभलका सहुलियतपूर्ण स्वास्थ्य योजनाहरू रोज्न सकिनेछ।
जुन १५ को समयसीमा छुटेमा ठूलो जोखिम हुन सक्ने चेतावनी दिइएको छ । यदि तपाईंले यो विन्डो गुमाउनुभयो भने तपाईंको हालको कभरेज जुन ३० मा समाप्त हुनेछ र जुलाई १ देखि तपाईं स्वास्थ्य बीमाविहीन हुने जोखिम रहन्छ। ढिलो गरी प्रक्रिया सुरु गर्ने सुविधा रहेपनि त्यसले गर्दा जुलाई १ को विन्डो छुट्न सक्छ।
यो परिवर्तनका कारण अब कतिपय नागरिकहरू पुरानै इन्डिभिजुअल मार्केटप्लेसमा फर्किनेछन्, कतिपय रोजगारदाताले उपलब्ध गराउने बीमामा जोडिनेछन् भने केही मानिसहरू पूर्ण रूपमा बीमाविहीन हुने सम्भावना समेत देखिएको छ। त्यसैले, न्यूयोर्कमा रहनुहुने र यो योजना प्रयोग गरिरहनुभएका नेपाली समुदायका महानुभावहरूले पनि समयमै आफ्नो स्टेटस चेक गरी नयाँ योजना छनोट गर्न जरुरी देखिन्छ।
