लस एन्जलस प्रदर्शन,हिरासत केन्द्र बाहिरबाट प्रदर्शनकारी पक्राउ



प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार

लस एन्जलस प्रदर्शन,हिरासत केन्द्र बाहिरबाट प्रदर्शनकारी पक्राउ

लस एन्जलसमा एक वर्षअघि भएको संघीय आप्रवासन धरपकडको स्मृतिमा आयोजित प्रदर्शनका क्रममा शनिबार मेट्रोपोलिटन डिटेन्सन सेन्टर बाहिर संघीय अधिकारीहरू तैनाथ छन्। तस्बिर: एपी/जिल कोनेली\रासस

लस एन्जलसमा आप्रवासी धरपकड सुरु भएको एक वर्ष पुगेको अवसरमा आयोजना गरिएको विरोध प्रदर्शनका क्रममा शनिबार मेट्रोपोलिटन डिटेन्सन सेन्टर बाहिरबाट केही प्रदर्शनकारी पक्राउ परेका छन्।

लस एन्जलस प्रहरी विभागका अनुसार दिउँसो १:३६ बजे प्रदर्शनकारीहरूले सडकको कम्तीमा एउटा लेन अवरुद्ध पारेका थिए। गुडिरहेका सवारीसाधनकै बीचबाट जथाभाबी बाटो काट्न थालेपछि प्रहरीले अलमेडा स्ट्रिटको टेम्पल र अलिसो स्ट्रिटबीचको खण्डमा सवारी चालकहरूलाई सावधानी अपनाउन आग्रह गरेको थियो।

त्यसपछि दिउँसो ३:५७ बजे एलएपीडीले संघीय अधिकारीहरूले प्रदर्शनकारीहरूलाई पक्राउ गरिरहेको जानकारी दिएको थियो। प्रदर्शनकारीहरूले दक्षिणतर्फ जाने यातायात अवरुद्ध गर्दा सडकमा जोखिम बढेको प्रहरीको भनाइ थियो। यद्यपि, कति जना पक्राउ परे भन्नेबारे स्पष्ट खुलाइएको छैन।

लस एन्जलसमा व्यापक आप्रवासी धरपकड सुरु भएको एक वर्ष पूरा भएको सन्दर्भमा आयोजित एउटा विशेष कार्यक्रमपछि यो विरोध प्रदर्शन भएको हो। उक्त मूल कार्यक्रममा लस एन्जलसकी मेयर कारेन बास र ‘कोअलिसन फर ह्युमेन इमिग्रेन्ट राइट्स’ का नेताहरूको उपस्थिति थियो। प्रहरीले गरेको यो पक्राउ भने सो मूल कार्यक्रमसँग सम्बन्धित नरहेको बताइएको छ।

लस एन्जलस प्रदर्शन,हिरासत केन्द्र बाहिरबाट प्रदर्शनकारी पक्राउ

कार्यक्रममा बोल्दै मेयर बासले भनिन्,हामी सधैँ आफ्ना छिमेकीहरूको रक्षा गर्नेछौँ। एलए र अन्य सबै ठाउँका आप्रवासी परिवारहरूसँग हामी सधैँ काँधमा काँध मिलाएर उभिनेछौँ। हाम्रो सहरको शक्तिको ठुलो हिस्सा मिहिनेती आप्रवासीहरू नै हुन्। जब संघीय सरकार र आइसले हाम्रो शक्तिको परीक्षा लिन्छ, हामी झन् बलियो भएर अगाडि आउँछौँ।

यस्तै, चिर्लाकी कार्यकारी निर्देशक एन्जेलिका सालासले भनिन्,एक वर्षअघि सम्पूर्ण लस एन्जलसबासी हरूलाई त्रसित बनाउने गरी चालिएको क्रूर कदमपछि आज हाम्रो सन्देश स्पष्ट छ- डरले हामीलाई हराउन सकेन, क्रूरताले हामीलाई विभाजित गर्न सकेन र सैन्यकरणले हाम्रो आवाज दबाउन सकेन। हामी त्यो घटनालाई सम्झन्छौँ, यसको प्रतिरोध गर्छौँ र प्रत्येक एन्जेलिनोको न्याय, मर्यादा र मानवताको लागि सङ्घर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।

यस विषयमा सिटी न्युज सर्भिसले डीएचएससँग प्रतिक्रिया मागेको थियो। जवाफमा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भन्यो, एकतर्फ मेयर कारेन बासले बाल यौन दुर्व्यवहार गर्नेहरू, बलात्कारी, ग्याङ्का सदस्य र हत्याराहरूलाई सडकमा खुला छाडिरहनुभएको छ भने, अर्कोतर्फ हाम्रा बहादुर सुरक्षाकर्मीहरूले आफ्नो ज्यान जोखिममा राखेर यस्ता जघन्य अपराधीहरूलाई पक्राउ गरिरहेका छन् ताकि लस एन्जलसलाई फेरि सुरक्षित बनाउन सकियोस्।

मन्त्रालयले लस एन्जलसबाट पक्राउ परेका आपराधिक पृष्ठभूमि भएका पाँच जना शङ्कास्पद व्यक्तिहरूको सूची समेत सार्वजनिक गरेको छ।





Source link

Leave a Comment