“सबै नेपालीलाई आफ्नोपनको अनुभूति गराउने नेपाल डे न्यू जर्सीको लक्ष्य हो” -सञ्जीव श्रेष्ठ, कन्भेनर



प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार

“सबै नेपालीलाई आफ्नोपनको अनुभूति गराउने नेपाल डे न्यू जर्सीको लक्ष्य हो” -सञ्जीव श्रेष्ठ, कन्भेनर

फोटो: अशोक पन्त

न्युजर्सीमा आयोजना हुन लागेको नेपाल डे फेयर लनको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली कला, संस्कृति, परम्परा तथा सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस वर्षको नेपाल डे फेयरलाई भव्य बनाउन आयोजक टोली जुटिरहेको छ। नेपाल डे फेयरका संयोजक सञ्जीव श्रेष्ठसँग खसोखासका लागि राजन काफ्लेले कार्यक्रमको तयारी, आर्थिक अवस्था, समुदायको सहभागिता र यस वर्षका विशेष आकर्षणबारे कुराकानी गरेका छन्। प्रस्तुत छ उक्त अन्तर्वार्ताको सम्पादित अंश:

अब कार्यक्रमको तयारी लगभग अन्तिम अवस्थामा पुगिसकेको छ। कुनै पनि कार्यक्रम गर्नमा सबैभन्दा ठूलो कुरा आर्थिक पक्ष पनि रहन्छ। आर्थिक पक्ष कुन अवस्थामा पुगेको छ? गत वर्षको तुलनामा कस्तो छ?

गएको वर्षको तुलनामा यो पालि आर्थिक दृष्टिकोणले हामी धेरै राम्रो अवस्थामा छौँ। यस पटक हामीलाई अमेरिकाको न्युजर्सीका धेरै साथीहरूले सहयोग गर्नुभएको छ भने न्युयोर्कका साथीहरूले पनि उत्तिकै साथ दिनुभएको छ।

धेरै अन्य राज्यका साथीहरू पनि हुनुहुन्छ। जस्तै, टेक्ससको अस्टिन र ड्यालसबाट पनि सहभागिता छ। धेरै राज्यहरूबाट सहयोग प्राप्त भएको छ। आर्थिक दृष्टिकोणले हेर्दा, अघिल्लो पटक हामी अलिअलि केही रकम घाटामा गयौँ, तर यो पालि वित्तीय पक्षलाई अलि सम्हालेकाले अवस्था राम्रो छ। टेक्सस, अस्टिन लगायत अन्य राज्यहरूबाट पनि सहभागीहरू आउँदै हुनुहुन्छ।

“सबै नेपालीलाई आफ्नोपनको अनुभूति गराउने नेपाल डे न्यू जर्सीको लक्ष्य हो” -सञ्जीव श्रेष्ठ, कन्भेनर

यो ‘नेपाल डे ’ फेरि घाटामा जाने स्थिति छैन ?

अघिल्लो पटक पनि धेरै घाटा भएको होइन, एकदमै कम भएको हो। हामीले सोचेजस्तै भएको थियो, तर साथीहरूले सोचेभन्दा बढी मिहिनेत गरिदिनुभयो। गत वर्षको अनुभव र सिकाइका कारण हामीले जति सोचेका थियौँ, यो पालि त्योभन्दा धेरै बढी सफल हुने देखिएको छ।

संयोजकको नाताले तपाईं आम समुदाय, हाम्रो नेपाली समुदाय र सहयोगी महानुभावहरूलाई के आह्वान गर्न चाहनुहुन्छ?

हाम्रो बुताले भ्याएसम्म र हाम्रो तागत हुन्जेलसम्म हामी यहाँ सबैलाई पूर्ण सम्मानका साथ स्वागत गर्छौँ। यहाँ हाम्रा केही सामाजिक कामहरू पनि छन्। विशेष गरी, यो पालि हामीले हाम्रो संस्कृति झल्काउने ‘कल्चरल शो’ मा धेरै ध्यान दिएका छौँ। एकदमै धेरै न्युजर्सीका नानीबाबुहरूले नृत्य प्रस्तुत गर्दै हुनुहुन्छ भने न्युजर्सीका प्रसिद्ध कलाकारहरूको पनि प्रस्तुति रहनेछ। यसका साथै हामीसँग विख्यात दुई जना गायकहरू पनि हुनुहुन्छ।

त्यसैले हामीले यो पालि एकदमै भव्य कल्चरल शो गर्ने र नेपाल झल्काउने तयारी गरेका छौँ। हाम्रा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू आ–आफ्नो जातीय भेषभूषामा सजिएर नेपाल झल्काउने गरी आउनुहुनेछ। हामीले हाम्रो क्षमताभन्दा दोब्बर तयारी गरेका छौँ। हामीलाई पूर्ण विश्वास छ—सबै नेपाली दाजुभाइ, दिदीबहिनी, यहाँबाट र अन्य देशबाट आउनुहुने पाहुनाहरूका साथै स्थानीय अमेरिकीहरू पनि उपस्थित हुनुहुनेछ।

कुनै नयाँ व्यक्ति त्यो दिन त्यहाँ आयो भने उसले आफूसँग के लिएर जान्छ ?

उत्तर: मुख्य रूपमा त आफ्नोपन नै हो। यदि जातीय पहिरन छैन भने पनि आफ्नो नियमित लुगा लगाएरै भए पनि आइदिनुस् र यहाँ आएर रमाइलो गर्नुस्। हामी तपाईंहरूलाई भरपूर मनोरञ्जन दिने प्रयास गर्नेछौँ र तपाईंहरू खुसी तथा भरपूर मनोरञ्जन लिएर फर्कन सक्नुहुनेछ। खानाका परिकारहरूको पनि राम्रो व्यवस्था छ। जति पनि फुड भेन्डरहरू हुनुहुन्छ, उहाँहरूले स्वादिला परिकारहरू पस्कनुहुनेछ।

नेपाली कपडाहरू, हस्तकलाका सामग्रीहरू, तितौरा, पोस्टरहरू लगायत विभिन्न प्रकारका स्टलहरू रहनेछन्। त्यसैले मलाई विश्वास छ कि यहाँ आएर कोही पनि बोर हुनुहुने छैन। कार्यक्रम भव्य हुनेछ र कसैलाई पनि बोरिङ हुन दिने छैनौँ भन्ने हामी प्रण गर्छौँ।

एनआरएनएको भूमिका यस कार्यक्रममा कस्तो रहेको छ?

एनआरएनए हाम्रो परिवारकै एउटा हिस्सा हो। उनीहरूलाई हामीले कुनै औपचारिक निमन्त्रणा गरेर बोलाउनुपर्ने होइन। एनआरएनए यस कार्यक्रमकै एउटा मुख्य अङ्ग हो।





Source link

Leave a Comment