टिकटकमा ‘सस्तो’ भन्दै ‘महँगो’ व्यापार, पर्यटक भिसामा आएका दुई चिनियाँ नागरिक समातिए



प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार

टिकटकमा ‘सस्तो’ भन्दै ‘महँगो’ व्यापार, पर्यटक भिसामा आएका दुई चिनियाँ नागरिक समातिए

तस्वीर : एआई निर्मित

पर्यटक भिसामा नेपाल आएर गैरकानुनी रूपमा व्यापारिक धन्दा चलाउने दुई चिनियाँ नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जाल टिकटक प्रयोग गरी नेपाली बजारमा महँगो मूल्यमा खाद्य सामग्री बिक्री वितरण गर्दै आएका उनीहरूलाई विभागले बिहीबार नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका दुवै जना पुरुष रहेको विभागले जनाएको छ।

विभागलाई प्राप्त उजुरी र प्रारम्भिक अनुसन्धान अनुसार ती चिनियाँ नागरिकले टिकटकमा ठूलो प्रचारप्रसार गर्ने गरेका थिए। उनीहरूले हिमाली क्षेत्रका रैथाने उत्पादनहरू (स्याउ, ओखर, लसुन र किसमिस जस्ता खाद्य सामग्री) सस्तो मूल्यमा दिने प्रलोभन देखाई ग्राहक आकर्षित गर्ने गरेका थिए। तर, वास्तविकतामा भने उनीहरूले ग्राहकहरूलाई बजार मूल्यभन्दा निकै महँगो दरमा ती सामान भिडाउने गरेको विभागले जनाएको छ।

‘विदेशी लगानी’को बहाना, नेपालीको नाममा कम्पनी
अध्यागमन विभागका निर्देशक एवम् प्रवक्ता टीकाराम ढकालका अनुसार अनुसन्धानका क्रममा उनीहरूले दुई वर्षअघि विदेशी लगानी भित्र्याई ‘लिउ जुन होटेल वीथ रेस्टुरेन्ट’ स्थापना गर्ने उद्देश्यले व्यावसायिक (बिजनेस) भिसा प्राप्त गरेका थिए। तर, प्रतिबद्धता अनुसार लगानी भने भित्र्याएको देखिएको छैन। हाल उनीहरू पर्यटक भिसामा नेपालमा बसोबास गरिरहेको पाइएको छ।

अध्यागमनको रेकर्ड अनुसार उनीहरू सन् २०२४ मा चीनको प्रतिष्ठित ‘तिब्बत हुइदा इन्टरनेशनल ट्रेड’ र ‘सिजाङ शाङ चेङ हेल्थ इन्डस्ट्रीज’का बजार विश्लेषकका रूपमा नेपाल छिरेका थिए। नेपालमा गैर कानुनी रूपमा व्यावसायिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले उनीहरूले नेपाली नागरिककै नाममा ‘नेपाल जाङ्नी ट्रेडिङ एन्ड इन्भेस्टमेन्ट’ नामक कम्पनी दर्ता गरेका थिए। सोही कम्पनीमार्फत चिनियाँ कृषि फारामको नाममा व्यवसाय सञ्चालन गरेको र टिकटकबाट त्यसको प्रचारप्रसार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

टिकटकमा ‘सस्तो’ भन्दै ‘महँगो’ व्यापार, पर्यटक भिसामा आएका दुई चिनियाँ नागरिक समातिए

“भिसाको सर्त विपरीत गतिविधिमा संलग्न ती चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको छ,” प्रवक्ता ढकालले भने।

के छ कानुनी व्यवस्था ?
नेपालको प्रचलित अध्यागमन कानुन बमोजिम विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो, सो बाहेक अन्य कार्य गर्न पाउँदैनन्। भिसाको सर्त तथा उद्देश्य विपरीत गतिविधिमा संलग्न रहेको पाइएमा सम्बन्धित विदेशी नागरिकलाई अनुसन्धान पश्चात् प्रचलित कानुन अनुसार जरिवाना गर्ने, नेपालबाट निष्कासन गर्ने र निश्चित वा अनिश्चित अवधिसम्म नेपाल पुनः प्रवेशमा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ।





Source link

Leave a Comment