नेवार्क विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नरोकिने, स्थानीय प्रहरी र संघीय सरकारबीच सहमति



प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार

नेवार्क विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नरोकिने, स्थानीय प्रहरी र संघीय सरकारबीच सहमति

वासिङ्टन डीसीस्थित आईसको मुख्यालयमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी मार्कवेन मुलिन।

(फोटो सौजन्य: होमल्याण्ड सेक्युरिटी/तिया दुफोर)

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी मार्कवेन मुलिनले न्यूजर्सीको व्यस्त ‘नेवार्क लिबर्टी इन्टरनेसनल एयरपोर्ट’ मा अन्तर्राष्ट्रिय उडान र कार्गोको प्रोसेसिङ रोक्न आवश्यक नरहेको बताएका छन्। डालसमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले आप्रवासी थुना केन्द्र नजिक स्थानीय र राज्यस्तरका सुरक्षा निकायहरूले राम्रो सहकार्य गरिरहेकाले तत्कालका लागि विमानस्थलको सेवा बन्द गर्नुपर्ने अवस्था टरेको स्पष्ट पारेका छन्।। उनले स्थानीय कानुनी निकायहरूबाट यस्तै सहयोग पाइरहेसम्म कुनै पनि उडान र सेवा नरोकिने भन्दै ढुक्क हुन आग्रह गरेका छन्।

यो विवाद न्यूजर्सीकी डेमोक्र्याट गभर्नर मिकी शेरिलले गत शुक्रबार नेवार्कस्थित आप्रवासी थुना बाहिर राज्यको प्रहरी परिचालन गरेपछि मत्थर भएको हो। नीजि कम्पनी ‘जियो ग्रुप’ द्वारा सञ्चालित १,००० बेड क्षमताको उक्त जेल बाहिर एक हप्तादेखि प्रदर्शनकारी र आईस एजेन्टहरूबीच लगातार झडप र तनाव भइरहेको थियो। गभर्नर शेरिलले त्यहाँ बढ्दै गएको हिंसालाई रोक्न र स्थिति नियन्त्रणमा लिन राज्यको प्रहरी पठाउनु परेको बताएकी थिइन्।

यसअघि सेक्रेटरी मुलिनले थुना केन्द्रको सुरक्षाका लागि विमानस्थलमा खटिएका भन्सार र सिमाना सुरक्षा एजेन्टहरूलाई तान्न सक्ने योजना रहेको भन्दै ट्रम्प प्रशासनले नेवार्कमा अन्तर्राष्ट्रिय प्रोसेसिङ रोक्न सक्ने कडा चेतावनी दिएका थिए। न्यूयोर्क सिटी नजिकै रहेको र युनाइटेड एयरलाइन्सको मुख्य हब मानिने यो विमानस्थल ठप्प पारिएमा हजारौं यात्रु अलपत्र पर्ने र व्यापार व्यवसायमा ठूलो धक्का लाग्ने भन्दै एयरलाइन्स र पर्यटन क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेका थिए।

मुलिनले नेवार्क मात्र नभई बोस्टन, डेनभर, फिलाडेल्फिया, सिकागो, लस एन्जलस, सियाटल र सान फ्रान्सिस्को जस्ता अमेरिकाका अन्य आप्रवासीमैत्री सहरका दर्जनभन्दा बढी विमानस्थलहरूमा पनि अध्यागमन प्रोसेसिङ रोक्न सक्ने धम्की दिँदै आएका छन्। अमेरिकी ट्राभल एसोसिएसनका अनुसार यदि यी १८ वटा विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा बन्द गरिएमा अमेरिकी अर्थतन्त्रलाई वार्षिक ७० अर्ब डलरभन्दा बढीको नोक्सान हुनेछ भने करिब ६ करोड ८० लाख अन्तर्राष्ट्रिय यात्रुहरू प्रभावित हुनेछन्।

यसै महिनादेखि अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप फुटबल सुरु हुँदैछ र विश्वभरका लाखौं फुटबल प्रेमीहरू अमेरिका आउने तयारीमा छन्। विश्वकपको फाइनल खेल जुलाई १९ मा न्यूजर्सीकै इस्ट रदरफोर्डमा हुँदैछ, जुन नेवार्क विमानस्थलबाट मात्र १२ माइलको दूरीमा पर्दछ। त्यसैले पनि विमानस्थलको सेवा सुचारु रहने कुराले पर्यटन व्यवसायी र खेलप्रेमीहरूलाई ठूलो राहत मिलेको छ।





Source link

Leave a Comment