प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार

फोटो : एपी /रासस
अमेरिका, बेलायत र अष्ट्रेलियाले समुद्रमुनि चल्ने मानवरहित यान प्रविधि विकास गर्ने घोषणा गरेका छन्। उनीहरूले आफ्नो सुरक्षा साझेदारी ‘अकस’ अन्तर्गत समुद्रमुनिका सञ्चार केबल तथा अन्य पूर्वाधारहरूको सुरक्षा गर्न र सैन्य क्षमता बढाउन नयाँ मानवरहित यान प्रविधि विकास गर्ने घोषणा गरेका हुन्।
सिंगापुरमा आयोजित सुरक्षा सम्मेलनमा तीनै देशका रक्षा मन्त्रीहरूले उक्त घोषणा गरेका हुन्। यो प्रविधि आगामी वर्षसम्म तयार हुने अपेक्षा गरिएको छ। परियोजनाको कुल लागत सार्वजनिक नगरिए पनि बेलायतले यसमा करिब २० करोड १० लाख अमेरिकी डलर लगानी गर्ने जनाएको छ।
अकस परियोजनाको प्रगति सुस्त भएको आलोचना भइरहेका बेला बेलायतका रक्षा मन्त्री जोन हिलीले अब स्थिति बदलिएको बताएका छन्। उनका अनुसार विगतमा धेरै चर्चा भए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको थिएन, तर अहिले तीनै देशका सरकारहरूले कामलाई तीव्रता दिएका छन्।
सन् २०२१ मा स्थापना भएको अकस सुरक्षा सम्झौताअन्तर्गत तीन देशले आणविक ऊर्जाबाट चल्ने पनडुब्बी निर्माण गर्ने तथा सैन्य प्रविधि र विशेषज्ञता आदानप्रदान गर्ने सहमति गरेका थिए। यो गठबन्धनलाई हिन्द–प्रशान्त क्षेत्रमा चीनको बढ्दो समुद्री प्रभावको सामना गर्ने रणनीतिक प्रयासका रूपमा हेरिन्छ।
नयाँ मानवरहित समुद्री यान परियोजना अकसको ‘दोस्रो स्तम्भ’ अन्तर्गतको पहिलो प्रमुख परियोजना हो। यसमा लामो दूरीका तीव्र गतिका क्षेप्यास्त्र, समुद्रमुनिका रोबोटिक प्रणाली तथा कृत्रिम बुद्धिमत्ता (AI) जस्ता उन्नत प्रविधिमा सहकार्य गरिनेछ।
संयुक्त वक्तव्यअनुसार नयाँ यानमा अत्याधुनिक उपकरण, सेन्सर र हतियार प्रणाली जडान गरिनेछ। यसले समुद्रमुनिका केबल र पाइपलाइनको सुरक्षा, निगरानी, गुप्त सूचना सङ्कलन, रसद व्यवस्थापन तथा आवश्यक परे आक्रमणसमेत गर्न सक्नेछ।
बेलायतका अधिकारीहरूका अनुसार यस्तो प्रविधिले दैनिक जीवनका लागि अत्यन्त महत्त्वपूर्ण समुद्रमुनिका सञ्चार केबल र ऊर्जा पाइपलाइनमाथि बढ्दै गएका खतराहरूको सामना गर्न सहयोग पुर्याउनेछ।
गत महिना बेलायतले रुसमाथि आफ्नो उत्तरी समुद्री क्षेत्रमा रहेका केबल र पाइपलाइनहरूमा गुप्त गतिविधि सञ्चालन गरेको आरोप लगाएको थियो। रुसले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ। गत डिसेम्बरमा बेलायत र नर्वेले उत्तर एटलान्टिक महासागर क्षेत्रमा रुसी पनडुब्बीहरूको निगरानी गर्दै समुद्रमुनिका केबलहरूको सुरक्षा गर्ने सम्झौता गरेका थिए।
बेलायत करिब ६० वटा समुद्रमुनिका सञ्चार केबलमार्फत विश्वसँग जोडिएको छ। बेलायती अधिकारीहरूका अनुसार पछिल्ला केही वर्षमा बेलायती जलक्षेत्रमा देखिने रुसी जहाजहरूको सङ्ख्या करिब ३० प्रतिशतले बढेको छ।
त्यसैगरी, ताइवान वरपरका समुद्री क्षेत्रमा तथा स्विडेनको जलक्षेत्रमा रहेका केही समुद्रमुनिका केबलहरूमा क्षति पुगेको घटनामा चिनियाँ जहाजहरूको संलग्नता रहेको आशङ्का गरिएको छ। बाल्टिक सागर क्षेत्रमा पनि यस्ता केबलहरू क्षतिग्रस्त भएका धेरै घटना सार्वजनिक भएका छन्।
तर, तीनै देशका रक्षा मन्त्रीहरूले नयाँ परियोजना विशेष रूपमा रुस वा चीनका गतिविधिलाई लक्षित गरेर ल्याइएको हो कि होइन भन्ने प्रश्नको प्रत्यक्ष जवाफ दिएनन्।
अकसको पहिलो स्तम्भअन्तर्गत बेलायत र अष्ट्रेलियामा आणविक ऊर्जाबाट चल्ने आक्रमणकारी पनडुब्बी निर्माण गरिनेछ। विशेषगरी अष्ट्रेलियाका लागि यो इतिहासकै सबैभन्दा ठूलो रक्षा परियोजना मानिएको छ। यस सम्झौतापछि अष्ट्रेलिया बेलायतपछि अमेरिकी आणविक प्रविधि प्राप्त गर्ने दोस्रो देश बन्नेछ।