प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले न्यू जर्सीस्थित नेवार्क अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु तथा कार्गो प्रक्रिया रोक्न सक्ने चेतावनी दिएको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)का प्रमुख मार्कवेन मुलिनले स्थानीय प्रशासनले संघीय आप्रवासन अधिकारीहरूलाई सहयोग नगरेको आरोप लगाउँदै यस्तो कदम चाल्न सकिने बताएका हुन्।
फक्स न्यूजको कार्यक्रम ‘फक्स एन्ड फ्रेन्ड्स’मा बिहीबार बोल्दै मुलिनले उत्तरी न्यू जर्सीका स्थानीय प्रहरी तथा प्रशासनले संघीय आप्रवासन अधिकारीहरूको काममा सहयोग नगरेको गुनासो गरे। उनले न्यू जर्सीस्थित एक हिरासत केन्द्रमा संघीय अधिकारीहरूको प्रवेश तथा बाहिरिने कार्य स्थानीय प्रहरीले सुनिश्चित नगरेको आरोप लगाए।
“यदि अवस्था परिवर्तन भएन भने, हामीले निकै चाँडै कठोर कदम चाल्नुपर्ने हुन सक्छ,” मुलिनले भने, “यदि भन्सार तथा आप्रवासन अधिकारीहरू विमानस्थलमा उपस्थित भएनन् भने अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुहरूलाई अमेरिकामा प्रवेश अनुमति दिइने छैन।”
नेवार्क विमानस्थल न्यूयोर्क सिटी नजिक रहेको युनाइटेड एयरलाइन्सको प्रमुख अन्तर्राष्ट्रिय हबमध्ये एक हो। यदि यहाँ अन्तर्राष्ट्रिय यात्रु तथा कार्गो प्रक्रिया बन्द गरियो भने त्यसले अमेरिकाको हवाई सेवा, व्यापार तथा पर्यटन क्षेत्रमा ठूलो असर पार्ने अनुमान गरिएको छ।
मंगलबार पनि मुलिनले ट्रम्प प्रशासनले ‘स्यान्क्चुअरी सिटी’ भनिने शहरहरूमा रहेका प्रमुख अमेरिकी विमानस्थलहरूमा अन्तर्राष्ट्रिय यात्रु तथा कार्गो प्रक्रिया रोक्ने योजना तयार गरिरहेको बताएका थिए।
अमेरिकामा ‘स्यान्क्चुअरी सिटी’ भन्नाले संघीय आप्रवासन नियन्त्रण अभियानमा पूर्ण सहयोग नगर्ने शहर तथा राज्यहरूलाई जनाइन्छ। ट्रम्प प्रशासनले यस्ता शहरहरूले गैरकानुनी आप्रवासनलाई संरक्षण गरिरहेको आरोप लगाउँदै आएको छ।
अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसले हालै सार्वजनिक गरेको सूचीमा बोस्टन, डेनभर, फिलाडेल्फिया, शिकागो, लस एन्जलस, न्यूयोर्क सिटी, नेवार्क, सिएटल तथा सान फ्रान्सिस्कोजस्ता प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल भएका शहरहरू समावेश छन्।
ट्रम्प प्रशासनको यस्तो चेतावनीले आगामी फिफा विश्वकपलाई समेत असर पार्न सक्ने चिन्ता बढेको छ। अर्को महिनादेखि सुरु हुने फिफा विश्वकपका लागि लाखौँ विदेशी पर्यटक अमेरिका पुग्ने अपेक्षा गरिएको छ।
विश्वकपको फाइनल खेल जुलाई १९ मा न्यू जर्सीको ईस्ट रदरफोर्डमा आयोजना हुँदैछ, जुन नेवार्क विमानस्थलबाट करिब १२ माइल दूरीमा पर्छ। यस्तो अवस्थामा विमानस्थलमा अन्तर्राष्ट्रिय सेवा प्रभावित भए विश्वकपमा आउने दर्शक तथा पर्यटकहरूलाई ठूलो समस्या हुन सक्ने बताइएको छ।
अमेरिकी एयरलाइन्सहरूले यो विषयलाई अत्यन्त गम्भीर रूपमा लिएका छन्। विभिन्न एयरलाइन्स कम्पनीहरूले प्रशासनिक अधिकारी तथा सांसदहरूसँग सम्पर्क गरी उडान प्रक्रिया रोकिए त्यसले विनाशकारी प्रभाव पार्ने चेतावनी दिएका छन्। युनाइटेड एयरलाइन्सले भने यस विषयमा सार्वजनिक टिप्पणी गर्न अस्वीकार गरेको छ।
‘एयरलाइन्स फर अमेरिका’ नामक प्रमुख यात्रुवाहक तथा कार्गो एयरलाइन्सहरूको समूहले प्रमुख विमानस्थलहरूमा भन्सार कर्मचारी घटाउँदा एयरलाइन्स सञ्चालन, यात्रु व्यवस्थापन तथा अन्तर्राष्ट्रिय कार्गो ढुवानीमा गम्भीर अवरोध आउने जनाएको छ।
गत वर्ष न्यूयोर्कका तीन प्रमुख विमानस्थलमा मात्रै पाँच करोडभन्दा बढी अन्तर्राष्ट्रिय यात्रु आएका थिए। यस कारण नेवार्क विमानस्थलमा सेवा अवरुद्ध भए त्यसको प्रभाव राष्ट्रिय स्तरमै पर्ने विश्लेषण गरिएको छ।
कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले फक्स न्यूजसँग कुरा गर्दै सबै ‘स्यान्क्चुअरी सिटी’का विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान प्रक्रिया रोक्नु ‘अत्यन्त कठोर’ विकल्प भए पनि यसबारे विचार गर्नुपर्ने बताएका छन्।
“हामीले सबै विकल्पबारे छलफल गर्नुपर्छ,” ब्लान्चले भने, “अन्ततः राष्ट्रपति ट्रम्पले के चाहनुहुन्छ र देशका लागि के उपयुक्त हुन्छ भन्ने आधारमा निर्णय हुनेछ।”
तर ट्रम्प प्रशासनभित्रै यस विषयमा फरक धारणा देखिएको छ। गत हप्ता भएको संसदीय सुनुवाइमा अमेरिकी ट्रान्सपोर्टेशन सेक्रेटरी शन डफीले केही राज्यको राजनीतिक मतभेदका कारण हवाई यात्रा बन्द गर्नु उचित नहुने बताएका थिए।
“हाम्रो राजनीतिक विचारसँग सहमत नभएको राज्यमा हवाई सेवा बन्द गर्नु हुँदैन,” डफीले भने।
डेमोक्रेटिक नेताहरूले भने संघीय आप्रवासन निकायहरूको दुरुपयोग नियन्त्रण गर्न सुधार आवश्यक रहेको बताएका छन्। उनीहरूले आइस र सीमा सुरक्षा निकायमाथि अत्यधिक शक्ति प्रयोग गरेको आरोप लगाएका छन्।
जनवरीमा मिनियापोलिसमा दुई अमेरिकी नागरिकको मृत्यु भएको घटनापछि आप्रवासन निकायहरूको भूमिकाबारे थप प्रश्न उठिरहेको छ।
यस्तै, अमेरिकी ट्राभल एसोसिएसनले प्रमुख विमानस्थलहरूमा अन्तर्राष्ट्रिय यात्रा रोक्दा पर्यटन उद्योग, होटल व्यवसाय तथा अन्तर्राष्ट्रिय पर्यटकमा निर्भर स्थानीय अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी दिएको छ।