प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार

टेक्सासको ह्युस्टनमा रहेको जर्ज बुश इन्टरकन्टिनेन्टल विमानस्थलमा आइस अधिकारी । फाइल तस्वीर : रोनाल्डो स्केमिड/एएफपी-रासस
होमल्याण्ड सेक्रेटरी मार्कवेन मुलिनले ट्रम्प प्रशासनले अध्यागमन नियन्त्रणमा सहयोग गर्न अस्वीकार गर्ने “स्यान्चुरी सिटी” (शरणार्थी अनुकूल सहर) का प्रमुख विमानस्थलहरूमा अन्तर्राष्ट्रिय यात्रु र कार्गोको प्रक्रिया रोक्ने योजना बनाइरहेको बताएका छन्। अर्को महिना सुरु हुन लागेको फिफा विश्वकपका लागि लाखौँ विदेशी पर्यटकहरू आउने अपेक्षा गरिएको समयमा यो कदमले डेमोक्र्याटिक राज्यका प्रमुख विमानस्थलहरूमा अन्तर्राष्ट्रिय हवाई यात्रा र ब्यापारलाई पूर्ण रूपमा ठप्प पार्न सक्छ।
मुलिनले आफूले ह्वाइट हाउसका अधिकारीहरूसँग भेटेको तर यस योजनालाई अघि बढाउने वा नबढाउने भन्नेबारे अहिलेसम्म कुनै अन्तिम निर्णय भइनसकेको स्पष्ट पारेका छन्।
“हामीले अहिले नै यसलाई सुरु गरिसकेका त छैनौँ, तर हाल हामी यसको योजना बनाइरहेका छौँ।” उनले स्यान्चुरी सिटीहरूलाई लक्षित गर्दै, “त्यहाँका स्थानीय कट्टर वामपन्थी डेमोक्र्याटहरूले हामीलाई आफ्नो काम गर्न र संघीय कानुन लागू गर्न दिइरहेका छैनन्, त्यसैले हामीले ती सहरहरूमा अन्तर्राष्ट्रिय उडानहरूको प्रक्रिया अगाडि बढाउनु हुँदैन।”
अमेरिकी जस्टिस डिपार्टमेन्टले सार्वजनिक गरेको स्यान्चुरी सिटी र राज्यहरूको सूचीमा प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल भएका धेरै सहरहरू समावेश छन्। यस सूचीमा बोस्टन, डेनभर, फिलाडेल्फिया, सिकागो, लस एन्जलस, न्युयोर्क सिटी, नेवार्क, सियाटल र स्यान फ्रान्सिस्को जस्ता सहरहरू रहेका छन्।
मुलिनले गत अप्रिलमा आफ्नो विभागको कोषसम्बन्धी विवादको क्रममा पहिलो पटक यो धम्की दिएका थिए, तर मंगलबार उनले यो विचार अहिले सक्रिय विचारधीन अवस्थामा रहेको बताएका छन्।
अर्कोतर्फ, डेमोक्र्याटहरूले आइस र सिबिपिद्वारा हुने दुरूपयोगलाई नियन्त्रण गर्न सुधार आवश्यक रहेको तर्क गर्दै आएका छन्। उनीहरूले गत जनवरीमा मिनियापोलिसमा दुई अमेरिकी नागरिकको हत्या भएको घटनालाई यसको उदाहरणका रूपमा लिएका छन्। प्रमुख एयरलाइन्स, होटल, कार भाडामा दिने कम्पनी र अन्य ट्राभल व्यवसायीहरूको प्रतिनिधित्व गर्ने ‘युएस ट्राभल एसोसिएसन’ले उनीहरूका प्रतिनिधिहरूले मुलिनसँग भेटवार्ता गरिसकेका छन्।
मुलिनले “प्रशासनले निश्चित स्यान्चुरी सिटीका अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट सिबिपि अधिकारीहरू फिर्ता बोलाउने विषयमा विचार गरिरहेको” कुरा पुनः पुष्टि गरेको युएस ट्राभलले जनाएको छ। यसले पर्यटन उद्योग र अन्तर्राष्ट्रिय आगन्तुकहरूमा निर्भर रहेका समुदायहरूमा विनाशकारी असर पार्ने चेतावनी समेत दिइएको छ।
गत वर्ष मात्रै न्युयोर्कका तीन प्रमुख विमानस्थलहरूमा ५ करोडभन्दा बढी अन्तर्राष्ट्रिय यात्रुहरू आएका थिए। प्रमुख यात्रुवाहक तथा कार्गो एयरलाइन्सहरूको समूह ‘एयरलाइन्स फर अमेरिका’ ले विमानस्थलहरूमा भन्सार कर्मचारीको संख्या कटौती गर्दा विमान कम्पनी, यात्रु र अन्तर्राष्ट्रिय कार्गोको प्रवाहमा ठूलो अवरोध आउने बताएको छ।