पोल्याण्डमा थप ५,००० सैनिक पठाउने ट्रम्पको घोषणा



प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार

पोल्याण्डमा हतियार जाँच गर्दै अमेरिकी सैनिक।तस्बिर: नेटो/ CC BY-NC-ND 2.0

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा थप ५,००० सैनिक पठाउने घोषणा गरेका छन्। यो निर्णय उनको प्रशासनले भर्खरै युरोपमा अमेरिकी सेनाको संख्या कटौती गर्न चालेका कदमहरू विपरीत देखिएको छ। ट्रम्पले पोल्याण्डका भर्खरै निर्वाचित दक्षिणपन्थी लोकप्रियतावादी राष्ट्रपति करोल नावरोकीसँगको आफ्नो राम्रो सम्बन्धका कारण यो सैन्य परिचालन गर्न लागिएको बताएका छन्।

यो घोषणा रक्षा मन्त्री पिट हेगसेथले पोल्याण्डमा घुम्ती सेवाका लागि जान लागेको एक सैन्य टोलीको परिचालन रोकेको ठीक एक हप्तापछि आएको हो। रक्षा मन्त्रालयले अमेरिकी आवश्यकताका बेला “युरोपेली राष्ट्रहरूले पर्याप्त सहयोग नगरेको” भन्दै असन्तुष्टि जनाउँदै उक्त टोलीको यात्रा रोकेको थियो।

यसअघि ट्रम्पले जर्मनीबाट ५,००० सैनिक फिर्ता बोलाउने घोषणा समेत गरेका थिए। जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानसँगको युद्धमा अमेरिका “अपमानित” भइरहेको टिप्पणी गरेपछि ट्रम्प उनीसँग रुष्ट भएका थिए।

ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भनेका छन, “पोल्याण्डका नवनिर्वाचित राष्ट्रपति करोल नावरोकीको सफल चुनाव र उनीसँगको हाम्रो बलियो सम्बन्धका आधारमा अमेरिकाले पोल्याण्डमा थप ५,००० सैनिक पठाउने घोषणा गर्दा मलाई खुसी लागेको छ।”

तर यी थप सैनिकहरू कहाँबाट ल्याइने हो र यसले युरोपमा अमेरिकी सेनाको समग्र संख्यामा कस्तो प्रभाव पार्ने हो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। इरान युद्धको विरोध गर्ने र अमेरिकालाई पर्याप्त सहयोग नगर्ने नेटो  सहयोगी राष्ट्रहरूसँग ट्रम्पको सम्बन्ध चिसिएका कारण युरोपमा अमेरिकी सैन्य उपस्थितिलाई लिएर अन्यौलता बढेको छ।

यद्यपि, पोल्याण्डका मन्त्रीहरूले भने यो घोषणाले देशमा रहेको अमेरिकी सेनाको संख्यामा खासै ठूलो परिवर्तन नल्याउने संकेत गरेका छन्। पोल्याण्डका विदेश मन्त्री राडोस्लाव सिकोर्स्कीले अमेरिकी सेनाको उपस्थिति पुरानै स्तरमा कायम रहने भन्दै ट्रम्पलाई धन्यवाद दिएक छन्।

स्विडेनमा आयोजित नेटो विदेश मन्त्रीहरूको बैठकअघि पत्रकारहरूसँग कुरा गर्दै उनले “अन्त भला त सब भला” भनी टिप्पणी गरे। त्यस्तै, रक्षा मन्त्री व्लादिस्लाव कोसिनियाक-कामिसले पोल्याण्डले आफ्ना सैनिकहरू गुमाउनु नपर्ने र देशमा करिब १०,००० अमेरिकी सैनिक सुरक्षित रहने दाबी गरेका छन।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सैन्य परिचालन कुनै दण्डात्मक कदम नभई विश्वव्यापी प्रतिबद्धताहरू पूरा गर्न चालिएको नियमित प्रक्रिया भएको स्पष्ट पारेका छन्। यता नेटोका प्रमुख मार्क रुटले ट्रम्पको घोषणाको स्वागत गर्दै नेटो अब कुनै एक सहयोगी राष्ट्रमा मात्र निर्भर नभई अझ बलियो र आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेको बताए।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता पोल्याण्ड पश्चिमी सैन्य सहायताको मुख्य केन्द्र रहँदै आएको छ र हाल त्यहाँ १०,०००को हाराहारीमा अमेरिकी सैनिक तैनाथ छन्।





Source link

Leave a Comment

Translate »