प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार

यूएससीआईएसले नयाँ नीति मेमो जारी गर्दै ग्रीन कार्डका लागि आवेदन दिने अधिकांश आप्रवासीले अमेरिकाभित्रबाट स्थिति समायोजन गर्नुको सट्टा विदेशमै कन्सुलर प्रक्रिया अपनाउनुपर्ने जनाएको छ। मेमोमा आप्रवासन ऐनको धारा २४५ अन्तर्गतको ‘स्थिति समायोजन’ सामान्य प्रक्रिया नभई विवेक र प्रशासनिक अनुग्रहको विषय भएको उल्लेख छ।
मेमोले यूएससीआईएसको “लामो समयदेखि कायम रहेको र निरन्तर” व्याख्यालाई पुनः पुष्टि गरेको बताएको छ। यसमा अधिकारीहरूलाई हरेक केसको छुट्टाछुट्टै मूल्याङ्कन गर्दै सबै सान्दर्भिक तथ्य र परिस्थितिहरू विचार गर्न निर्देशन दिइएको छ।
यूएससीआईएसका प्रवक्ता जाच काह्लरले यूएससीआईएस कानुनको “मूल उद्देश्य” तर्फ फर्किएको दाबी गरेका छन्। उनका अनुसार अस्थायी रूपमा अमेरिकामा रहेका र ग्रीन कार्ड चाहने व्यक्तिले “असाधारण परिस्थितिबाहेक” आफ्नो स्वदेश फर्केर आवेदन दिनुपर्छ। उनले यो नीतिले अवैध रूपमा अमेरिकामा बसिरहने प्रोत्साहन घटाउने र यूएससीआईएसका स्रोतहरू अन्य प्राथमिकतामा केन्द्रित गर्न सहयोग गर्ने बताएका छन्।
मेमोमा संसद्ले आप्रवासी भिसा र समायोजन प्रक्रियाका लागि विस्तृत कानुनी संरचना बनाएको र स्थायी बसोबासको सामान्य मार्ग विदेशबाट कन्सुलर प्रक्रिया नै भएको दाबी गरिएको छ। गैरआप्रवासी भिसामा वा अस्थायी परोलमा अमेरिका आएका व्यक्तिहरू सामान्यतया आफ्नो अनुमति अवधि सकिएपछि देश छोड्ने अपेक्षा गरिने मेमोमा उल्लेख छ।
नयाँ निर्देशनअनुसार अधिकारीहरूले भिसा वा परोलको सर्त उल्लङ्घन, आप्रवासनसम्बन्धी धोखाधडी वा झूटो बयान, बसाइको सर्त पालना नगरेको अवस्था र समयमै नफर्किएको विषयलाई नकारात्मक कारकका रूपमा हेर्नुपर्नेछ। तर निर्णय गर्दा पारिवारिक सम्बन्ध, आप्रवासन इतिहास र नैतिक चरित्रजस्ता सकारात्मक पक्षसँग सन्तुलन गरेर मात्रै निष्कर्ष निकाल्नुपर्नेछ।
मेमोले आवेदन अस्वीकृत हुने अवस्थामा लिखित रूपमा कारण खुलाउनुपर्ने र विवेकका आधारमा गरिएको अस्वीकृतिमा सकारात्मक र नकारात्मक पक्ष कसरी तौलियो भन्ने विश्लेषण समावेश गर्नुपर्ने बताएको छ।
यस नीतिले अमेरिकाभित्रैबाट ग्रीन कार्ड प्रक्रिया अघि बढाइरहेका केही अस्थायी भिसावाहक र परोलमा रहेका आवेदकहरूलाई प्रभाव पार्न सक्छ। मेमोले केही विशेष श्रेणी र कानुनी अपवादहरू भने यथावत् रहने जनाएको छ।