प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार
तस्वीर स्रोत : नेपालस्थित अमेरिकी दूतावास
नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन्। पर्वतारोहण र कूटनीतिक सम्बन्ध दुवै क्षेत्रमा उल्लेखनीय उपलब्धि मानिएको उक्त आरोहण उनले मे २० गते बिहान ९ः१० बजे सगरमाथाको शिखरमा पुगेर सम्पन्न गरेका हुन्।
यससँगै हार्कर सगरमाथा आरोहण गर्ने पहिलो कार्यरत अमेरिकी विदेश सेवा अधिकारी बनेका छन्, जसले कूटनीतिक सेवामा रहँदै विश्वको सर्वोच्च शिखरमा पाइला टेक्ने ऐतिहासिक कीर्तिमान स्थापित गरेका छन्।
उनको यो आरोहण आगामी सन् २०२६ मा मनाइने अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव ‘स्वतन्त्रता २५०’ को सन्दर्भमा समेत विशेष अर्थपूर्ण मानिएको छ। दूतावासका अनुसार यो सफलताले अमेरिकी आत्माको दृढता, साहस, लगनशीलता र अन्वेषणप्रतिको दीर्घ परम्परालाई प्रतिनिधित्व गर्छ।
हार्करको यो यात्रा व्यक्तिगत पहलका रूपमा गरिएको भए पनि उनको हिमालयसँगको सम्बन्ध करिब दुई दशक पुरानो रहेको छ। सन् २००६ मा अन्नपूर्ण आधार शिविरको पदयात्राका क्रममा पहिलो पटक नेपालसँग जोडिएका उनले त्यसयता हिमालय क्षेत्रसँग निरन्तर सम्बन्ध विस्तार गर्दै आएका थिए।
“माइकको यो अभियान सन् २००६ मा अन्नपूर्ण आधार शिविरको पदयात्राबाट सुरु भएको करिब २० वर्ष लामो यात्राको परिणाम हो, जसले उनको नेपालसँगको जीवनभरको सम्बन्धलाई प्रारम्भ गरेको थियो।”, नेपालस्थित अमेरिकी दूतावासले भन्यो ।
दूतावासले यो सफलतालाई अमेरिका–नेपालबीच झण्डै आठ दशकदेखि कायम मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने प्रतीकका रूपमा समेत व्याख्या गरेको छ। साथै, दिगो साहसिक पर्यटनले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारसँगै स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने सन्देश यसले दिएको उल्लेख गरिएको छ।
दूतावासले भनेको छ, “यो सफल शिखर आरोहण प्रयासले अमेरिका–नेपालबीचको झण्डै आठ दशक लामो मित्रतालाई जोड दिन्छ। दिगो साहसिक पर्यटनले स्थानीय अर्थतन्त्रलाई कसरी ऊर्जा प्रदान गर्दै विश्वव्यापी सम्बन्ध निर्माण गर्छ भन्ने कुरा पनि यसले देखाउँछ।”
त्यसैगरी, आरोहणले नेपालका शेर्पा समुदायको साहस, उच्चस्तरीय दक्षता र समर्पणलाई विशेष रूपमा उजागर गरेको दूतावासले जनाएको छ। हिमाली पर्वतारोहणको मेरुदण्डका रूपमा परिचित शेर्पा समुदायको योगदानबिना यस्तो उपलब्धि सम्भव नहुने पनि उल्लेख गरिएको छ।
साथै, सगरमाथा जस्तो विश्व सम्पदाको संरक्षणलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै यसले हिमाली समुदायको जीविकोपार्जन, पर्यटन क्षेत्रको विकास र आगामी पुस्ताका साहसिक आरोहीहरूलाई प्रेरणा दिने दूतावासले विश्वास व्यक्त गरेको छ।
विश्वकै सर्वोच्च शिखर सगरमाथाले यस वर्षको वसन्तकालीन आरोहण सिजनमा नयाँ इतिहास रचिरहेको छ । बुधबार मात्र एकै दिन २७४ आरोहीले सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए ।
यो सिजनमा कामिरिता शेर्पाले विश्वमै सबैभन्दा धेरै ३२ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान फेरि तोडेका छन् । महिलातर्फ लाक्पा शेर्पाले ११ पटक सफल आरोहण गर्दै नयाँ इतिहास बनाएकी छन् भने फोटो पत्रकार पूर्णिमा श्रेष्ठले ६ पटक सगरमाथा चढ्दै अर्को उल्लेखनीय उपलब्धि थपेकी छन् ।
यस्तै, १८ वर्षीया एक अस्ट्रेलियाली युवतीले पनि सफलतापूर्वक सगरमाथा आरोहण गर्दै युवा पुस्तामाझ प्रेरणाको सन्देश दिएकी छिन् ।