प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार

तस्बिर: आइस
अमेरिकामा आइसले देशैभरि नयाँ सहकार्य कार्यस्थलहरू स्थापना गर्दै आफ्ना कर्मचारीहरू परिचालन गर्न थालेको छ। कतिपय कार्यालयहरूमा एक जनादेखि केही संख्यामा कर्मचारीहरू खटाइन थालिएको छ। यसै सिलसिलामा फोर्ट स्नेलिंग, मिनेसोटा र न्यूयोर्क लगायतका विभिन्न राज्यहरूमा ‘आइस’ का कर्मचारीहरू पुगिसकेका छन्।
युएसए टुडे द्वारा समीक्षा गरिएका आधिकारिक रेकर्डहरूका अनुसार, आईसले अमेरिकाका ४० भन्दा बढी राज्य र पोर्टो रिकोका विभिन्न सहरहरूमा करिब ३३० जना कर्मचारी परिचालन गर्ने योजना बनाएको छ। यस सूचीमा सबैभन्दा बढी ४९ जना कर्मचारी टेक्सस राज्यमा पठाउन लागिएको छ। यसबाहेक एटलान्टा, बाल्टिमोर, कोलोराडो स्प्रिंग्स, कान्सास सिटी, नक्सभिल, मियामी, न्यासभिल, ओमाहा र सियाटल जस्ता सहरहरूमा पनि आईसको उपस्थिति बढाउने लक्ष्य राखिएको छ।
संघीय खरिद रेकर्डहरूले देखाएअनुसार यी अधिकारी र कर्मचारीहरू न्यूयोर्क र ह्युस्टन जस्ता ठूला सहरहरू मात्र नभई भर्मोन्टको डर्बी र मेनको क्यारिबु जस्ता साना नगरहरूमा समेत अध्यागमन प्रवर्तनलाई सुदृढ गर्न खटिएका हुन्। यी रेकर्डहरू हिरासत केन्द्रका नभई को-वर्किङ प्रकृतिका कार्यालय र डेस्कका लागि हुन्।
गत वर्षको संघीय खर्च योजना अन्तर्गत गृह सुरक्षा मन्त्रालयमा अर्बौँ डलर प्रवाह भएसँगै ह्वाइट हाउस र अध्यागमन अधिकारीहरू देशव्यापी रूपमा कडा कदम चाल्न कसरी तयारी गरिरहेका छन् भन्ने कुरा यसबाट प्रस्ट हुन्छ।
गत जनवरी महिनामा मिनेसोटाको मिनियापोलिसमा अध्यागमन छापा मार्ने क्रममा विरोध प्रदर्शन हुँदा दुई अमेरिकी नागरिकको गोली लागेर मृत्यु भएपछि ट्रम्प प्रशासनले केही महिनाका लागि विवादित र हाइप्रोफाइल छापा मार्ने कार्य रोकेको थियो।
उक्त घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमन कारबाहीमा केही लचिलोपन अपनाउने वाचा गरे पनि सामूहिक देशनिकालाको अभियान जारी राख्ने प्रतिबद्धता जनाएका थिए। यसै क्रममा उनले मार्च महिनामा तत्कालीन डीएचएस सेक्रेटरी क्रिस्टी नोएमलाई बर्खास्त गरी मार्कवेन मुलिनलाई नयाँ जिम्मेवारी सुम्पिएका थिए।
नयाँ गृह सुरक्षा मन्त्री मुलिनले सञ्चारमाध्यमसँग कुरा गर्दै विभाग मिडियाको हेडलाइनबाट टाढा रहेर शान्त रूपमा काम गर्न चाहेको तर यसको अर्थ अभियान सुस्त भएको नहुने स्पष्ट पारेका छन्। उनका अनुसार हाल दैनिक झण्डै १,९०० जनालाई हिरासतमा लिने गरिएको छ भने हप्तामा २,७०० जना जतिलाई देशनिकाला गरिँदै छ। हाल अमेरिकाका विभिन्न हिरासत केन्द्रहरूमा ६०,००० भन्दा बढी मानिसहरूलाई राखिएको छ।
प्रशासनले आक्रामक रूपमा सैन्य शैलीका रणनीतिहरू अपनाएर मानिसहरूलाई खेतबारी वा व्यावसायिक पार्किङ स्थलहरूबाट नियन्त्रणमा लिन थालेपछि अमेरिकी जनतामा यसको विरोध सुरु भएको छ। हालै गरिएको एक सर्वेक्षण अनुसार आधा जति अमेरिकी नागरिकहरू जसमा ट्रम्पलाई भोट दिने २५ प्रतिशत मतदाता समेत सामेल छन्, यो देशनिकाला अभियान र आईसको परिचालन आवश्यकताभन्दा बढी आक्रामक भएको ठान्छन्। तथ्याङ्क अनुसार अध्यागमन हिरासतमा रहेकाहरूमध्ये ३५ प्रतिशत मानिसहरूको कुनै पनि आपराधिक रेकर्ड वा आपराधिक आरोप छैन।
ह्वाइट हाउसका सीमा प्रमुख टम होमनले भने कानुनी रूपमा बस्ने अनुमति नभएका जुनसुकै व्यक्तिलाई पनि देश बाहिर निकालिने अडान दोहोर्याएका छन्। उनले विशेष गरी स्थानीय प्रहरीले संघीय एजेन्टहरूलाई सहयोग नगर्ने ‘स्यान्चुरी सिटी’ हरूमा अझ ठूलो संख्यामा एजेन्टहरू बाढी झैँ पठाइने चेतावनी दिएका छन्।