ह्वाइट हाउसद्वारा कर्मचारीलाई ‘भविष्यवाणी बजार’ मा बाजी लगाउन प्रतिबन्ध



प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार

White House, Washington DC

फोटोM डेभिड एभरेट स्ट्रिकलर / अनस्प्लास

ह्वाइट हाउसले आफ्ना कर्मचारीहरूलाई आन्तरिक गोप्य जानकारी प्रयोग गरेर बाजी लगाउन रोक लगाएको छ। कर्मचारीहरूले यस्ता जानकारीका आधारमा ‘भविष्यवाणी बजार’ मा बाजी नगाऊन् भनी गत महिनादेखि नै कडाइ गरिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामाथि आक्रमण गर्ने आफ्नो धम्की पाँच दिनका लागि स्थगित गर्ने घोषणा गरेको भोलिपल्ट, अर्थात् २४ मार्चमा कर्मचारीहरूलाई यो इमेल पठाइएको बताइएको छ। उक्त इमेलमा सरकारी अधिकारीहरूले सार्वजनिक नभएका सूचना प्रयोग गरी ‘कल्शी’ वा ‘पोलीमार्केट’ जस्ता प्लेटफर्महरूमा बाजी लगाएको हुन सक्ने सञ्चारमाध्यमका रिपोर्टहरूप्रति चिन्ता व्यक्त गरिएको थियो।

ह्वाइट हाउसका प्रवक्ता डेभिस इङ्गलले भने, “प्रमाणबिना प्रशासनका अधिकारीहरू यस्तो गतिविधिमा संलग्न छन् भन्नु आधारहीन र गैरजिम्मेवार रिपोर्टिङ हो।” उनले सबै संघीय कर्मचारीहरू सरकारी नैतिक आचारसंहिताको दायरामा रहने र आन्तरिक जानकारीबाट आर्थिक फाइदा लिन नपाइने कुरा स्पष्ट पारे। यस विषयलाई पहिलोपटक ‘द वाल स्ट्रीट जर्नल’ ले सार्वजनिक गरेको थियो।

यसअघि जनवरीमा, भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो पक्राउ पर्ने घटनामा एक व्यक्तिले आधिकारिक घोषणा हुनुअघि नै ठूलो रकम जितेका थिए। यस्ता घटनाले भविष्यवाणी बजारको विश्वसनीयतामा शङ्का उत्पन्न गराएको छ। यस्ता बजारमा खेलकुददेखि आर्थिक नीति वा चुनाव परिणामसम्मका विषयमा बाजी थाप्ने गरिन्छ। पछिल्लो एक वर्षमा यसको लोकप्रियता बढे पनि युद्ध वा सैन्य गतिविधिसम्बन्धी बाजीले नियमनको आवश्यकतामाथि बहस सिर्जना गरेको छ।

यसैबीच, अमेरिकी सांसद रिची टोरेसले शङ्कास्पद कारोबारबारे अनुसन्धान गर्न माग गरेका छन्। यसका लागि उनले ‘कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसन’ लाई पत्र पठाएका छन्। डेमोक्र्याट नेताहरूले युद्ध वा सैन्य कारबाहीसँग सम्बन्धित बाजीमा पूर्ण प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेका छन्। न्यु जर्सीका सिनेटर एन्डी कीमले भविष्यवाणी बजारका कमजोरी र कानुनी छिद्रका कारण भ्रष्टाचार एवं दुरुपयोग बढिरहेको बताएका छन्।





Source link

Leave a Comment