होर्मुज जलमार्गमा ८०० जहाज अड्किए: असुरक्षाका कारण तेल ट्याङ्करहरूले मार्ग फेर्दै



प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार

होर्मुज जलमार्गमा ८०० जहाज अड्किए: असुरक्षाका कारण तेल ट्याङ्करहरूले मार्ग फेर्दै

इरानसँगको युद्धका कारण होर्मुज जलमार्गको जहाज आवागमनमा ठूलो असर परेको देखिएको छ। मंगलबार भएको युद्धविरामपछि केवल १९ वटा जहाजले मात्र उक्त जलमार्ग पार गरेका छन्। तीमध्ये चारवटा तेल, ग्यास वा रसायन बोक्ने ट्याङ्कर थिए भने बाँकी कन्टेनर र बल्क क्यारियर जहाजहरू थिए।

यो तथ्याङ्क समुद्री ट्र्याकिङ प्रणाली ‘मरिन ट्राफिक’ बाट लिइएको हो। युद्ध सुरु हुनुअघि यस मार्गबाट दैनिक औसत १३८ वटा जहाजले आवतजावत गर्ने गर्दथे।

अहिले धेरै जहाजहरूले इरानको तटीय क्षेत्रनजिक उत्तरतर्फको जोखिमपूर्ण मार्ग प्रयोग गरिरहेका छन्। यसअघि जहाजहरूले बीचको सुरक्षित दक्षिणी मार्ग प्रयोग गर्ने गर्दथे। विश्लेषकहरूका अनुसार यस अवरोधले विश्व अर्थतन्त्रमा ठूलो असर पारेको छ र ऊर्जाको मूल्यलाई अस्थिर बनाएको छ। अवरोधका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला समेत कमजोर भएको छ।

धेरै सिपिङ कम्पनीहरू अझै स्पष्ट सुरक्षा आश्वासन नपाउँदा अत्यन्त सतर्क छन्। जहाज मालिकहरू अझै ठूलो अनिश्चिततामा छन्, किनभने इरानले अझै पनि जलमार्गमा आफ्नो प्रभाव कायम राखेको छ। इन्टरनेशनल च्याम्बर अफ सिपिङका महासचिव थोमस काजाकोसले समुद्री सुरक्षाबारे स्पष्ट सहमति नभएसम्म जोखिम कायमै रहने बताएका छन्।

विश्लेषकहरूका अनुसार करिब ८०० वटा जहाज केही समयदेखि अड्किएका छन्, जसमा धेरैजसो तेल र व्यापारिक सामान बोकेका जहाज छन्। अहिले उनीहरूको प्राथमिकता ती जहाजलाई सुरक्षित रूपमा बाहिर निकाल्नु रहेको छ। युद्धविराम केवल दुई हप्ताका लागि भएकाले जहाज कम्पनीहरू थप जोखिम लिन चाहिरहेका छैनन्। अर्को चिन्ता समुद्री बारुद (विस्फोटक पदार्थ) को सम्भावना पनि हो, जसले यो मार्गलाई अझ खतरनाक बनाउन सक्छ।

होर्मुज जलमार्ग हाल अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण विश्वव्यापी समुद्री व्यापारको प्रमुख केन्द्र बनेको छ। इरानले यस महत्वपूर्ण जलमार्गमा नियन्त्रण कडा पारेपछि विश्वको प्रमुख ढुवानी मार्गमध्ये एक अवरुद्ध जस्तै भएको छ।

मंगलबार भएको दुई हप्ते अमेरिका–इरान युद्धविराम सम्झौतामा यस जलमार्गबाट सुरक्षित आवागमन सुनिश्चित गरिने सर्त राखिएको थियो। तर, त्यस क्षेत्रका जहाजहरूले ‘अनुमतिबिना प्रवेश गरे आक्रमण गरी नष्ट गरिने’ चेतावनीपूर्ण सन्देश इरानी पक्षबाट प्राप्त गरेका कारण थप अनिश्चयको अवस्था सिर्जना भएको बताइएको छ।





Source link

Leave a Comment