लेबनान–इजरायल तनाव चुलिँदै : युद्धविराम भए मात्र प्रत्यक्ष वार्ता, भीषण आक्रमणमा सयौं हताहत



प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार


लेबनान र इजरायलबीच बढ्दो द्वन्द्वका बीच सम्भावित शान्ति वार्ताबारे नयाँ शर्त अघि आएको छ। लेबनानका राष्ट्रपतिको कार्यालयका एक वरिष्ठ अधिकारीले बीबीसीलाई जानकारी दिँदै भनेका छन् – ‘यदि वार्ताअघि प्रभावकारी युद्धविराम लागू भएन भने लेबनानले अर्को साता हुने भनिएको प्रत्यक्ष वार्तामा भाग लिने छैन।’

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने लेबनानी सरकारबाट “बारम्बार अनुरोध” आएको दाबी गर्दै प्रत्यक्ष वार्ताका लागि आफ्नो मन्त्रिपरिषद्लाई निर्देशन दिइसकेको बताएका छन्। उनका अनुसार वार्ताको मुख्य उद्देश्य दुईवटा हुनेछन्, जसमा पहिलो उद्धेश्य हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने रहेको छ भने दोस्रोमा इजरायल–लेबनानबीच दीर्घकालीन शान्ति सम्झौता कायम गर्ने रहेको छ ।

यसैबीच, अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले वासिङ्टनमा अर्को साता उच्चस्तरीय बैठक आयोजना गरिने जानकारी दिएका छन्, जहाँ दुवै देशबीच जारी युद्धविरामसम्बन्धी छलफल हुने अपेक्षा गरिएको छ।

यता, स्थलमै युद्ध अवस्था भने अझै शान्त भएको छैन। लेबनानी अधिकारीहरूका अनुसार पछिल्लो इजरायली हवाई आक्रमणमा कम्तीमा २१ जनाको ज्यान गएको छ।

आक्रमणले लेबनानभर भय र त्रास फैलिएको छ भने उद्धार टोलीहरू भग्नावशेषबाट शव निकाल्ने कार्यमा व्यस्त छन्।

इजरायली रक्षा बलका अनुसार बिहीबार राति उत्तर इजरायलतर्फ प्रहार गरिएका करिब १० वटा रकेट प्रक्षेपण स्थलहरूलाई निशाना बनाइएको छ। साथै, थप सम्भावित आक्रमण बिन्दुहरू पत्ता लगाउने र नष्ट गर्ने अभियान जारी रहेको बताइएको छ।

अर्कोतर्फ, हिजबुल्लाहले पनि रातभरि इजरायलका विभिन्न स्थानमा रकेट प्रहार गरेको जनाएको छ। हालसम्म आक्रमणमा कुनै ठूला मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन।

यस द्वन्द्वको मुख्य जटिलता भने युद्धविराम सम्झौतामै देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार घोषणा गरेको अमेरिका–इरान युद्धविराममा लेबनान समावेश थियो वा थिएन भन्ने विषयमा मतभेद चर्किएको छ। पाकिस्तान र इरानले लेबनान पनि समावेश रहेको दाबी गरेका छन् भने अमेरिका र इजरायलले लेबनान युद्ध विराम प्रस्तावमा नरहेको बताएका छन् ।

इरानका उपविदेशमन्त्री सईद खातिबजादेहले इजरायली आक्रमणलाई गम्भीर उल्लङ्घन बताएका छन्। तर, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने इरानले गलत बुझेको टिप्पणी गरेका छन्।

इजरायल र लेबनानबीच प्रत्यक्ष वार्ता ऐतिहासिक रूपमा निकै दुर्लभ मानिन्छ। दुवै देशबीच प्रायः बिचौलियामार्फत मात्रै संवाद हुँदै आएको छ।

नोभेम्बर २०२४ को युद्धविरामपछि पनि वार्ता प्रयास जारी रहे पनि अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार इजरायली जेटहरूले करिब १० मिनेटसम्म देशव्यापी भीषण आक्रमण गर्दा ८ ३०० भन्दा बढी मानिसको मृत्यु भएको र एक हजार भन्दा बढी घाइते भएको जनाएको छ ।

इजरायली सेनाले भने १०० भन्दा बढी हिजबुल्लाहका मुख्यालय, सैन्य संरचना तथा कमाण्ड–नियन्त्रण केन्द्रहरूलाई लक्षित गरिएको जनाएको छ।





Source link

Leave a Comment

Translate »