प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार

ग्रेटर न्यूयोर्क नेपाली च्याम्बर अफ कमर्सले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव र नेपाली नयाँ वर्ष २०८३ को अवसरमा म्यानहट्टनमा विशेष सांस्कृतिक तथा व्यावसायिक कार्यक्रम आयोजना गर्ने भएको छ।
सन् २०२६ अप्रिल १८ तारिखका दिन आयोजना हुने यस कार्यक्रमले नेपाली कला, संस्कृति र व्यावसायिक नेटवर्किङलाई एकै ठाउँमा जोड्ने लक्ष्य राखेको छ।
संस्थाका अनुसार उक्त समारोह वेस्ट ४१ स्ट्रिटस्थित ‘पियर ८१’ बाट प्रस्थान गर्ने एक क्रुज (पानीजहाज) मा आयोजना गरिनेछ। साँझ ६:०० बजेबाट बोर्डिङ सुरु भई ७:०० बजे प्रस्थान गर्ने उक्त क्रुजले म्यानहट्टनको सुन्दर स्काईलाइनको दृश्य अवलोकन गराउँदै साढे तीन घण्टाको यात्रा तय गर्नेछ। कार्यक्रम राति ११:०० बजे समापन हुनेछ।
विश्वव्यापी समुदायलाई जोड्ने र सांस्कृतिक पहलहरूलाई सहयोग गर्ने प्रतिबद्धता स्वरूप टर्किस एयरलाइन्सले यस कार्यक्रमलाई सहयोग गरेको छ। प्रायोजनको हिस्सा स्वरूप सोही साँझ विशेष ‘राफल ड्र’ मार्फत दुईवटा अन्तर्राष्ट्रिय बिजनेस क्लास टिकटहरू उपहार स्वरूप प्रदान गरिनेछ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा प्रख्यात नेपाली कलाकारहरू एड्रियन प्रधान र नलिना चित्रकारको प्रत्यक्ष सांगीतिक प्रस्तुति रहनेछ। सहभागीहरूले यात्राका क्रममा नेपाली खानाका परिकार, पेय पदार्थ र नेपाली पहिचान झल्काउने सांस्कृतिक मनोरञ्जनको आनन्द लिन पाउनेछन्।
कार्यक्रमका बारेमा बोल्दै अध्यक्ष प्रदीप श्रेष्ठले संस्थाको मुख्य उद्देश्य नेपाली संस्कृतिको प्रवर्द्धन गर्दै समुदायभित्रको व्यावसायिक सम्बन्धलाई मजबुत बनाउनु रहेको बताए। उनले यो कार्यक्रम उद्यमीहरूलाई एकै ठाउँमा ल्याउन र अर्थपूर्ण सम्बन्ध विस्तार गर्न एउटा महत्त्वपूर्ण मञ्च हुने विश्वास व्यक्त गरे।
न्यूयोर्क, न्यूजर्सी र वरपरका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरिएको छ। यो कार्यक्रम संस्थाका सदस्य र गैर-सदस्य दुवैका लागि खुला रहनेछ। साथै, सहभागीहरूले ज्याक्सन हाइट, क्वीन्सस्थित युनाइटेड वायरलेसद्वारा प्रायोजित आइफोन १७ प्रो म्याक्स जित्ने अवसर समेत प्राप्त गर्ने आयोजकले जनाएका छन्।