जर्जियाको उपनिर्वाचनले ट्रम्पलाई दियो राहत, डेमोक्र्याटसँगको मत अन्तर भने घट्यो



प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार

जर्जियाको उपनिर्वाचनले ट्रम्पलाई दियो राहत, डेमोक्र्याटसँगको मत अन्तर भने घट्यो

अमेरिकाको जर्जियामा भएको उपनिर्वाचनमा रिपब्लिकन उम्मेदवार विजयी भएका छन्। जर्जियाको १४औँ निर्वाचन क्षेत्रमा भएको विशेष चुनावमा रिपब्लिकन उम्मेदवार क्ले फुलरले जित हासिल गरेका हुन्।

पूर्व रिपब्लिकन सदस्य मार्जोरी टेलर ग्रीनले राजीनामा दिएपछि रिक्त भएको अमेरिकी प्रतिनिधि सभाको सिट भर्न उनी सफल भएका छन्। यो जितले तल्लो सदनमा रिपब्लिकन पार्टीको बहुमतलाई थप बलियो बनाएको छ।

फुलरले डेमोक्र्याट उम्मेदवार शन ह्यारिसलाई पराजित गरेका हुन्। ह्यारिस अवकाशप्राप्त अमेरिकी सेनाका जनरल हुन्, जसले सन् २०२४ मा ग्रीनविरुद्ध पनि उम्मेदवारी दिएका थिए। उनको चुनावी अभियानले डेमोक्र्याटहरूमा केही आशा जगाएको थियो।

अन्ततः उत्तर-पश्चिम जर्जियाका मतदाताहरूले आफ्नो परम्परागत ‘रेड’ (रिपब्लिकन) समर्थनलाई कायमै राखेका छन्। ट्रम्प समर्थित फुलरले ग्रीनको बाँकी कार्यकाल पूरा गर्नेछन्, जुन आगामी जनवरीमा समाप्त हुनेछ। पूर्ण दुई वर्षको कार्यकालका लागि उनले आगामी प्राइमरी र नोभेम्बरको आम चुनाव पुनः जित्नुपर्ने हुन्छ।

ग्रीनले ट्रम्पसँगको सार्वजनिक विवादपछि राजीनामा दिएकाले जर्जियाको १४औँ निर्वाचन क्षेत्र ट्रम्पको शक्तिको परीक्षणको रूपमा हेरिएको थियो। ट्रम्पको कडा आलोचक बनेकी उनले ट्रम्पलाई पदबाट हटाउन समेत आह्वान गरेकी थिइन्।

मध्यावधि चुनावको यस मौसममा ट्रम्पले रिपब्लिकन बहुमतलाई सुदृढ बनाउने प्रयास गरिरहेका छन्। उनले यस वर्ष फुलरको पक्षमा अनलाइन र जर्जियामा भौतिक रूपमै उपस्थित भई सक्रिय समर्थन गरेका थिए।

मार्चमा भएको विशेष चुनावमा १७ उम्मेदवारमध्येबाट ‘रनअफ’ (दोस्रो चरण) मा फुलर र ह्यारिस पुगेपछि ट्रम्पले जर्जियाका मतदाताहरूलाई मतदान गर्न आग्रह गरेका थिए।

यद्यपि, डेमोक्र्याटहरूले मत परिणामबाट केही सान्त्वना पाएका छन्। ह्यारिसको हारको अन्तर सन् २०२४ मा ग्रीनसँगको २९ प्रतिशतको ठूलो मतान्तरभन्दा निकै कम देखिएको छ।

ट्रम्प राष्ट्रपति पदमा फर्किएपछिका चुनावहरूमा डेमोक्र्याटहरूले लगातार राम्रो प्रदर्शन गरिरहेका छन्। यो प्रदर्शन नोभेम्बरमा आफ्नो बहुमत सुरक्षित गर्न खोजिरहेका रिपब्लिकनहरूका लागि चेतावनीको सङ्केत हुन सक्छ।





Source link

Leave a Comment