प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार
फोटो: न्यु न्यु / अनस्प्ल्यास
खाडी मुलुकमा युद्धको अफवाह फैलाएको आरोपमा ११ जना नेपाली पक्राउ परेका छन्।
इजरायल, अमेरिका र इरानबीच चलेको द्वन्द्वबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री तथा तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका कारण पश्चिम एसियाका विभिन्न मुलुकबाट ११ नेपाली पक्राउ परेका हुन्।
परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी ११ नेपाली पक्राउ परेको जानकारी गराएको हो। पक्राउ पर्नेमा साउदी अरेबियामा चार, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा तीन–तीन तथा ओमानमा एक जना रहेका छन्।
क्षेप्यास्त्र तथा ड्रोनमार्फत भइरहेको आक्रमणको तस्बिर तथा श्रव्यदृश्य सामग्री खिचेर कुनै पनि सामाजिक सञ्जालमा डर–त्रास फैलाउने गरी पोस्ट गरेमा कानुनी सजाय भोग्नुपर्ने व्यवस्था छ।
त्यही अनुरूप हालसम्म ११ नेपालीलाई सामाजिक सञ्जालमा त्यस्ता किसिमका सामग्री राखेर कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए।
“पक्राउ परेका नेपाली नागरिकले कुन कानुन उल्लङ्घन गरेका हुन् र कति जरिवाना लाग्छ भन्नेबारे जानकारी लिने काम भइरहेको छ,” प्रवक्ता क्षेत्रीले बताए।
खासगरी होटल, रेस्टुरेन्ट र पर्यटन जस्ता क्षेत्रमा कार्यरत नेपाली कामदारले जागिर गुमाउने चिन्ता बढेको भए तापनि बृहत् क्षेत्रमा त्यसको खतरा नरहेको सम्बन्धित नियोगहरूले जानकारी दिएका छन्। राससको सहयोगमा