प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)का सबै कर्मचारीलाई तलब उपलब्ध गराउने उद्देश्यसहित चाँडै कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो जानकारी दिएका हुन्।
“म चाँडै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सबै उत्कृष्ट कर्मचारीलाई तलब दिने आदेशमा हस्ताक्षर गर्नेछु,” ट्रम्पले लेखेका छन्। लामो समयदेखि जारी आंशिक सरकारी ‘शटडाउन’ का कारण प्रभावित कर्मचारीहरूलाई राहत दिने उद्देश्यले उक्त कदम चाल्न लागिएको जनाइएको छ।
यसैबीच, अमेरिकी सिनेटले बिहीबार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको बजेटसम्बन्धी विधेयक पारित गर्ने प्रक्रियामा महत्वपूर्ण प्रगति गरेको छ। सिनेटले उक्त विधेयकलाई प्रतिनिधि सभाबाट पारित गर्ने मार्ग खुला गरिदिएको हो। प्रस्तावित विधेयकअनुसार डिपार्टमेन्टलाई सेप्टेम्बर ३० सम्मका लागि आवश्यक बजेट सुनिश्चित गरिनेछ।
यदि यो विधेयक प्रतिनिधि सभाबाट पनि पारित भएमा झन्डै सात हप्तादेखि जारी आंशिक ‘शटडाउन’ अन्त्य हुने अपेक्षा गरिएको छ। ‘शटडाउन’ का कारण हजारौं संघीय कर्मचारीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका थिए । साथै, कतिपयले तलबबिनै काम गर्नुपरेको थियो भने कतिपयलाई बिदामा पठाइएको थियो।
तर, प्रतिनिधि सभामा रहेका रिपब्लिकन सदस्यहरूको धारणा अझै स्पष्ट नभएकाले विधेयक पारित हुने वा नहुनेबारे अनिश्चितता कायम छ। केही कडा धारका रिपब्लिकन सांसदहरूले बजेट सम्बन्धी सहमतिमा असन्तुष्टि जनाउँदै आएका छन्, जसले पारित प्रक्रियालाई जटिल बनाउन सक्ने देखिन्छ।
अमेरिकी संघीय बजेट र आप्रवासन नीतिसँग सम्बन्धित विवादका कारण पटक–पटक ‘शटडाउन’ हुने गरेको छ। यसले सरकारी सेवा, सुरक्षा निकाय र आर्थिक गतिविधिमा समेत असर पार्ने गरेको विश्लेषकहरू बताउँछन्।
यदि प्रस्तावित कदमहरू सफल भए सरकारी कामकाज सामान्य अवस्थामा फर्काउन र प्रभावित कर्मचारीहरूको मनोबल उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।