प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार

अमेरिकी डलर देखाएर ठगी गर्ने दुई जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा नुवाकोट, शिवपुरी गाउँपालिका–८ का २८ वर्षीय सरोज भन्ने सुवास तामाङ र मकवानपुर, थाहा नगरपालिका–१२ का २७ वर्षीय फुर्साङ पासाङ भन्ने गौरव स्याङ्तान रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।
नुवाकोट, लिखु गाउँपालिका–६ घर भई हाल काठमाडौँ, तारकेश्वर–१० बस्ने दीपक थापालाई थानकोट पिपलबोटमा बोलाई “१२ हजार ६०० अमेरिकी डलर सस्तो दरमा साटिदिन्छु” भनी प्रलोभनमा पारेर तीन लाख नेपाली रुपैयाँ ठगी गरी फरार भएका उनीहरूलाई कलङ्कीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट पाँच थान सिम कार्ड र विभिन्न कम्पनीका तीन थान मोबाइल बरामद गरेको छ।
सुवास तामाङ २०७९ भदौ १३ गते घर चोरी गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दुई वर्ष ११ महिना एक दिन कैद, ३५ हजार रुपैयाँ जरिवाना र एक हजार ४०० रुपैयाँ क्षतिपूर्ति शुल्क बुझाउनुपर्ने फैसला भएका व्यक्ति हुन्। उनी यसअघि चार पटकसम्म मोटरसाइकल चोरी मुद्दामा पक्राउ परेको अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेकाहरूले ट्रेकिङ वा भरियाको काम गर्दा पहिरोमा डलर तथा अन्य विदेशी मुद्रा भेटेको भनी मानिसहरूलाई प्रलोभनमा पारी ठगी गर्ने गरेको खुलेको छ। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, थानकोट पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए। राससको सहयोगमा