ट्रम्पको दाबी: भान्स र रुबियो इरानसँग वार्ता गर्दै



प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार

ट्रम्पको दाबी: भान्स र रुबियो इरानसँग वार्ता गर्दै

फोटो : एपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्ताको नेतृत्व उपराष्ट्रपति जे.डी. भान्स र विदेशमन्त्री मार्को रुबियोले गरिरहेको बताएका छन्।

उनीहरू लगायत अन्य उच्च अधिकारीहरू पनि इरानसँगको संवादमा संलग्न रहेको ट्रम्पको दाबी छ। उनले दुवै पक्ष सम्झौताको नजिक पुगेको भन्दै आफू आशावादी रहेको उल्लेख गरेका छन्।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हामी अहिले वार्तामा छौँ। भान्स, मार्को र अन्य केही व्यक्तिहरू यसमा सक्रियताका साथ लागेका छन्।” उनले इरान पनि सम्झौता गर्न इच्छुक रहेको दाबी गर्दै थपे, “म तपाईंलाई भन्न सक्छु, उनीहरू पनि सम्झौता गर्न चाहन्छन्।”

इरानको सैन्य अवस्थाबारे टिप्पणी गर्दै ट्रम्पले भने “इरानको नौसेना लगभग समाप्त भइसकेको छ, वायुसेना कमजोर छ र सञ्चार प्रणाली पनि ध्वस्त छ। अहिले इरानका लागि यही नै सबैभन्दा ठूलो समस्या बनेको छ।”

गत शुक्रबार “युद्धविराम चाहन्नँ” भनेको व्यक्तिले अहिले किन धारणा बदलेको भन्ने प्रश्नमा ट्रम्पले मंगलबार जवाफ दिए, “किनभने उनीहरू अहिले हामीसँग कुरा गरिरहेका छन् र समझदारीपूर्ण कुरा गरिरहेका छन्।”

ट्रम्पले वार्ताको मुख्य सर्त प्रस्ट्याउँदै थपे, “सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उनीहरूले आणविक हतियार राख्न पाउँदैनन्। मैले हिजो पनि भनेको थिएँ पहिलो, दोस्रो र तेस्रो सर्त नै इरानले आणविक हतियार राख्न नपाउनु हो।” इरानले आणविक हतियार कहिल्यै नबनाउने गरी सहमति हुने ट्रम्पको विश्वास छ।

यद्यपि, इरानले भने अमेरिकी अधिकारीहरूसँग युद्ध अन्त्यका लागि कुनै पनि वार्ता नभएको बताएको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले मिलेर इरानमा आक्रमण गरेपछि सुरु भएको युद्ध अझै जारी छ।

यस युद्धका क्रममा ठूलो धनजनको क्षति भएको छ भने आक्रमणका क्रममा इरानका सर्वोच्च नेता अली खामेनीलगायत अन्य महत्त्वपूर्ण व्यक्तिहरूको मृत्यु भइसकेको छ।





Source link

Leave a Comment