प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार

अमेरिकाको न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा आइतबार राति भएको जेट विमानको घातक दुर्घटनापछि लगातार दोस्रो दिन पनि उडान सेवा प्रभावित भएको छ। एयर क्यानडा एक्सप्रेसको सिआरजे- ९०० जेट र रनवेमा रहेको दमकल गाडीबीच ठक्कर हुँदा दुई पाइलटको मृत्यु भएको थियो भने अन्य ९ जना गम्भीर घाइते भएका छन्।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार विमानस्थलका दुई रनवेमध्ये एउटा अझै बन्द रहेको छ र यो शुक्रबारसम्म मात्रै पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ। यसका कारण विमानस्थलमा उडान तालिका अस्तव्यस्त बनेको छ।
उडान ट्र्याकिङ गर्ने वेबसाइट फ्लाइटअवेयरका अनुसार बिहान ९ः४५ सम्म (स्थानीय समयअनसार) कुल २२१ उडान (करिब २० प्रतिशत) रद्द भएका छन् भने २१४ उडान ढिलाइ भएका छन्। एफएएले दिनभरि नै थप ढिलाइ हुने चेतावनी दिएको छ।
दुर्घटनाबारे अनुसन्धान गरिरहेको राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)ले ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर फेला पारिसकेको जनाएको छ। एनटीएसबीकी अध्यक्ष जेनिफर होमेन्डीले मंगलबार नै पत्रकार सम्मेलन गरी प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्ने तयारी रहेको बताएकी छन्। उक्त विमान क्षेत्रीय साझेदार ज्याज एभिएसनद्वारा सञ्चालनमा थियो।
अनुसन्धान टोलीले दुर्घटनाअघि अर्को आपतकालीन अवस्था सम्हालिरहेका हवाई ट्राफिक नियन्त्रकसँग पनि सोधपुछ गर्ने योजना बनाएको छ। प्रारम्भिक जानकारीअनुसार उक्त ठक्कर आइतबार मध्यरातअघि नियन्त्रकको रात्रीकालीन ड्युटीका क्रममा भएको थियो।
हवाई सुरक्षा विज्ञहरूले अवतरण गरिरहेको विमान, हवाई ट्राफिक नियन्त्रक र रनवेमा रहेका सवारी साधनबीचको सञ्चारलाई अनुसन्धानको मुख्य विषय बनाइएको बताएका छन्।