प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार

नामिबिया सरकारले स्टारलिङ्कलाई स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन गर्न इजाजत पत्र दिन अस्वीकार गरेको छ। एलन मस्क स्वामित्वको उक्त कम्पनीका लागि यो दक्षिणी अफ्रिकामा अर्को ठुलो झट्का बनेको छ।
नामिबियाको सञ्चार नियामक प्राधिकरण (सिआरएएन)ले निर्णय सार्वजनिक गर्दै स्टारलिङ्कको स्थानीय सहायक कम्पनीमा आवश्यक स्थानीय स्वामित्व नभएको जनाएको छ। नामीबियाको कानुनअनुसार दूरसञ्चार कम्पनीमा कम्तीमा ५१ प्रतिशत शेयर स्थानीय नागरिक वा संस्थाको हुनुपर्ने प्रावधान छ।
हाल स्टारलिङ्कले अफ्रिकाका करिब २५ देशमा सेवा सञ्चालन गरिरहेको भए पनि दक्षिण अफ्रिका लगायतका देशमा यस्तै स्वामित्वसम्बन्धी नियमका कारण समस्या भोगिरहेको छ।
यसअघि सन् २०२४ मा पनि सिआरएएनले स्टारलिङ्कमाथि इजाजतबिनै सेवा सञ्चालन गरेको आरोप लगाउँदै सबै गतिविधि तुरुन्त रोक्न निर्देशन दिएको थियो। साथै, सर्वसाधारणलाई यसको उपकरण नकिन्न र सेवा प्रयोग नगर्न चेतावनी दिइएको थियो।
नामिबियाले स्वतन्त्रतापछि स्थानीय स्वामित्व बढाउने र जातीय असमानता घटाउने नीति लागू गर्दै आएको छ। यही कारण विदेशी कम्पनीहरूले त्यहाँ सञ्चालन गर्न स्थानीय साझेदारी अनिवार्य बनाइएको छ।
यता, एलन मस्कले भने दक्षिण अफ्रिकामा आफ्नो कम्पनी सञ्चालन हुन नसक्नुको कारण “जातीय स्वामित्वसम्बन्धी कानुन” भएको आरोप लगाएका छन्। तर दक्षिण अफ्रिकी सरकारले भने स्थानीय कानुन पालना गरे कुनै समस्या नहुने स्पष्ट पारेको छ।
स्टारलिङ्कले दुर्गम क्षेत्रका मानिसहरूलाई लक्षित गर्दै स्याटेलाइटमार्फत उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।