प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार

फोटो : एएफपी/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग “महत्त्वपूर्ण सहमति” भएको बताएका छन्।
वेस्ट पाम बिच विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अमेरिका र इरानबीच १५ बुँदे सहमति भएको उल्लेख गरे। सहमतिमध्ये इरानले परमाणु हतियार नबनाउने प्रतिबद्धता जनाएको बुँदा मात्र उनले सार्वजनिक गरे। यो कुरा यसअघि पनि इरानले सार्वजनिक रूपमा बताउँदै आएको थियो।
वार्ताप्रति आशावादी देखिँदै ट्रम्पले भने, “यो पूर्ण रूपमा सफल भयो।” उनले थपे, “यदि उनीहरूले यसलाई कार्यान्वयन गरे भने त्यो समस्या र द्वन्द्व धेरै हदसम्म अन्त्य हुनेछ।”
उनका अनुसार अमेरिकी प्रतिनिधि स्टिभ विटकफ र जारेड कुशनर पनि वार्तामा सहभागी थिए। तर, इरानको तर्फबाट को-कोसँग कुरा भइरहेको छ भन्नेबारे उनले केही खुलाएनन्। केवल “सम्मानित नेता” सँग संवाद भइरहेको मात्र उनले उल्लेख गरे।
उनले भने, “उनीहरू सम्झौता गर्न निकै इच्छुक छन्। हामी पनि सम्झौता गर्न चाहन्छौँ।” उनले सोमबार थप टेलिफोन वार्ता हुने र छिट्टै प्रत्यक्ष भेटवार्ता हुने समेत बताए।
उनले पाँच दिनको समयसीमा तोकिएको उल्लेख गर्दै भने, “यदि यो प्रक्रिया सफल भयो भने हामी समाधानमा पुग्नेछौँ। अन्यथा, हामी बमबारीलाई निरन्तरता दिनेछौँ।”
ट्रम्पले स्पष्ट पारे कि कुनै पनि सम्झौतामा इरानले परमाणु बम नबनाउने सर्त अनिवार्य हुनेछ। उनले भने, “हामी कुनै पनि परमाणु हतियार चाहँदैनौँ।” साथै, अमेरिकाले इरानसँग रहेको उच्च स्तरको संवर्धित युरेनियम आफ्नो नियन्त्रणमा लिन चाहेको पनि उनले बताए।
“त्यो परमाणु पदार्थ हामी चाहन्छौँ र मलाई लाग्छ हामीले त्यो पाउनेछौँ। त्यसमा सहमति भइसकेको छ,” उनले भने।