प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार

मध्यपूर्वमा जारी द्वन्द्वका कारण बेलायतमा खाद्य वस्तुको मूल्य बढ्ने चेतावनी दिइएको छ। बेलायती राष्ट्रिय किसान संघ (एनएफयू)ले इन्धन र मलको लागत बढेसँगै आगामी महिनाहरूमा उपभोक्ताले महँगीको थप दबाब सामना गर्नुपर्ने जनाएको हो।
एनएफयूका अध्यक्ष टम ब्राडशाका अनुसार आउँदो ६ हप्ताभित्र काक्रो र गोलभेँडाको मूल्य बढ्न सक्नेछ भने अन्य बाली र दूधको मूल्य ३ देखि ६ महिनाभित्र महँगो हुन सक्ने सम्भावना छ।
इरानले होर्मुज जलडमरूमध्यमा गरेको नाकाबन्दीका कारण विश्वभर इन्धन र मलको आपूर्ति प्रभावित भएको छ। उक्त जलमार्गबाट ठूलो मात्रामा प्राकृतिक ग्यास, कच्चा तेल र मल आपूर्ति हुँदै आएको थियो, जुन हाल तीन हप्ताभन्दा बढी समयदेखि अवरुद्ध छ।
यसको प्रभाव सम्पूर्ण खाद्य आपूर्ति शृङ्खलामा परेको एनएफयूले जनाएको छ। ग्रीनहाउसमा उत्पादन हुने गोलभेँडा, काक्रो र खुर्सानीजस्ता तरकारीहरू ऊर्जा मूल्यवृद्धिका कारण छिट्टै महँगिने बताइएको छ।
त्यस्तै, पशुपालन तथा दुग्ध क्षेत्र पनि प्रभावित हुने देखिएको छ, किनकि यी क्षेत्रका किसानहरूले आवश्यकताअनुसार मल खरिद गर्ने गर्छन्। तर गहुँ र जौजस्ता अन्नबाली उत्पादन गर्ने किसानहरू भने अग्रिम खरिद गर्ने भएकाले सुरुआती प्रभावबाट केही हदसम्म जोगिन सक्नेछन्।
ब्रिटिश रिटेल कन्सोर्टियम (बीआरसी)ले ढुवानी मार्गमा आएको अवरोधले केही वस्तुको उपलब्धता र मूल्यमा असर पार्न सक्ने जनाएको छ। यद्यपि, खुद्रा विक्रेता र आपूर्तिकर्ताहरूले ग्राहकमा पर्ने असर कम गर्न प्रयास गर्ने बताएका छन्।
ऊर्जा लागतमा निरन्तर वृद्धि भएमा वस्तुको मूल्यमा प्रत्यक्ष असर पर्ने बीआरसीका अधिकारीहरूले बताएका छन्। साथै, कृषिमा प्रयोग हुने ‘रेड डिजेल’ को मूल्य बढ्ने सम्भावनाले किसानहरू थप चिन्तित बनेका छन्।
यसैबीच बेलायत सरकारले पनि अवस्था निगरानी गरिरहेको जनाएको छ। कृषि मन्त्री एन्जेला इगलले मध्यपूर्वको अवस्थाले खाद्य तथा कृषि क्षेत्रमा पार्ने प्रभावबारे ध्यान दिइरहेको बताएकी छन्।
आगामी साता सरकारको आपतकालीन समिति ‘कोब्रा’ को बैठक बस्दैछ, जहाँ मध्यपूर्वको युद्धले जीवनयापन खर्चमा पारेको प्रभावबारे छलफल हुने जनाइएको छ। खाद्य मूल्यसँगै पेट्रोल, ऊर्जा बिल र ब्याजदरका विषयहरू पनि छलफलमा पर्नेछन्।