युद्धमा साथ नदिएको भन्दै नेटो देशहरूप्रति ट्रम्पको आक्रोश, भने – ‘डरपोकहरू’



प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार

युद्धमा साथ नदिएको भन्दै नेटो देशहरूप्रति ट्रम्पको आक्रोश, भने – ‘डरपोकहरू’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोका सहयोगी राष्ट्रहरूमाथि आक्रोश व्यक्त गरेका छन्। उनले इरानविरुद्धको अमेरिका–इजरायल युद्धमा साथ नदिएको भन्दै नेटो देशहरूलाई “डरपोक”को संज्ञा दिएका हुन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले अमेरिका बिना नेटो एउटा कागजी बाघ मात्रै रहेको बताउँदै ती देशहरूको भूमिका कमजोर रहेको टिप्पणी गरे।

ट्रम्पले विशेष गरी स्ट्रेट अफ हर्मुजमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न नेटो देशहरूले सहयोग नगरेको आरोप लगाए। उनले सो क्षेत्र खुला राख्न सहयोग नगर्दा विश्वव्यापी तेल मूल्य बढेको दाबी समेत गरेका छन्।

उनका अनुसार, युद्ध लगभग जितिसकिएको अवस्थामा पनि नेटो देशहरूले कुनै जोखिम लिन नचाहेको तर तेलको मूल्य बढेको गुनासो गरिरहेको बताए। “यो काम उनीहरूका लागि सजिलो र कम जोखिमपूर्ण छ, तर पनि गर्न चाहँदैनन्,” ट्रम्पले लेखेका छन्।

यसैबीच, जर्मनी, बेलायत, फ्रान्स, इटाली, नेदरल्याण्ड्स, जापान र क्यानडाले संयुक्त वक्तव्य जारी गर्दै हर्मुज क्षेत्रमा सुरक्षित आवागमनका लागि उपयुक्त प्रयासमा सहभागी हुने बताएका छन्। तर, फ्रेडरिक मर्जले त्यसका लागि द्वन्द्व अन्त्य हुनुपर्ने शर्त राखेका छन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भने ब्रसेल्समा आयोजित शिखर सम्मेलनपछि प्रतिक्रिया दिँदै अन्तर्राष्ट्रिय कानुनको रक्षा र तनाव कम गर्नु नै प्राथमिकता भएको बताएका छन्। उनले यस द्वन्द्वमा प्रत्यक्ष संलग्न हुने इच्छा कसैले नदेखाएको स्पष्ट पारे।





Source link

Leave a Comment