इरानसँगको युद्धका लागि पेन्टागनद्वारा २०० अर्ब डलर बजेट माग



प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार

इरानसँगको युद्धका लागि पेन्टागनद्वारा २०० अर्ब डलर बजेट माग

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानसँगको सैन्य कारबाही सञ्चालनका लागि २०० अर्ब डलरभन्दा बढीको बजेट माग गरेको छ। पेन्टागनले सो बजेट स्वीकृतिका लागि ह्वाइट हाउससमक्ष प्रस्ताव पेश गरेको हो।

यो रकम हालसम्मको डोनाल्ड ट्रम्प प्रशासनको सैन्य अभियान खर्चभन्दा निकै ठूलो हुने बताइएको छ। यस बजेटको मुख्य लक्ष्य युद्धमा प्रयोग भइसकेका महत्त्वपूर्ण हतियारहरूको उत्पादन तत्काल बढाउनु रहेको छ।

पछिल्ला दुई हप्तामा पेन्टागनले विभिन्न बजेट प्रस्तावहरू अघि सारेको छ, जसले अमेरिकी संसद (कंग्रेस) मा ठूलो राजनीतिक बहस निम्त्याउने सम्भावना देखिएको छ। यस विषयमा अमेरिकी रक्षा मन्त्रालय र ह्वाइट हाउस दुवैले हालसम्म कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन्।

यसअघि, ट्रम्प प्रशासनका अधिकारीहरूले इरानविरुद्धको युद्धको पहिलो छ दिनमै अमेरिकाले कम्तीमा ११.३ अर्ब अमेरिकी डलर खर्च गरिसकेको जानकारी बाहिर आएको थियो। स्रोतका अनुसार, यो तथ्याङ्क गत मंगलबार अमेरिकी सिनेटरहरूका लागि आयोजित एक गोप्य ब्रिफिङमा प्रस्तुत गरिएको थियो।

प्रशासनका अधिकारीहरूले सांसदहरूलाई दिएको जानकारी अनुसार, आक्रमणको पहिलो दुई दिनमै ५.६ अर्ब डलर बराबरका हतियार र गोला–बारुद प्रयोग भइसकेका छन्। कंग्रेसका केही सदस्यहरूले भने युद्ध लम्बिएमा अमेरिकी सैन्य भण्डार घट्ने र रक्षा उद्योगमाथि अत्यधिक दबाब बढ्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

यसै सन्दर्भमा, राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता रक्षा ठेकेदार कम्पनीका कार्यकारीहरूसँग भेट गरी सैन्य सामग्रीको आपूर्ति बढाउने विषयमा छलफल गर्नुभएको थियो।

इरानविरुद्धको सैन्य अभियान फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको हवाई आक्रमणबाट सुरु भएको थियो। उक्त पहिलो हमलामै इरानी सर्वोच्च नेता अली खामेनीलगायत उच्च अधिकारीहरूको ज्यान गएको दाबी गरिएको छ।





Source link

Leave a Comment